रौतहटमा एघार हजार बिरुवा रोपिएको छ । जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय रौतहटको सहकार्यमा रौतहटको चन्द्रपुरस्थित रामलाल साझेदारी वन क्षेत्रमा विभिन्न प्रजातिका एघार हजार बिरुवा लगाइएको हो ।
“स्वस्थ, सुन्दर रौतहट हरियाली रौतहट” भन्ने मुल नाराको साथ चन्द्रपुर नगरपालिका वडा नम्वर ८ रामलाल साझेदारी वनको ६ हेक्टर जग्गामा जामुन, टिकसहित विभिन्न जातको बिरुवाहरु लगाइएको हो । तीन दिन जारी वृक्षारोपण कार्यक्रम आइतबार सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।
डिभिजन वन कार्यालयको सहकार्यमा गरिएको वृक्षारोपन कार्यक्रमबाट यस भेगको वातावरणीय पर्यावरणमा सकारात्मक असर पुग्ने विश्वास आफूले गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।
चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरीले चन्द्रपुर नगरपालिका वातावरण एवं पर्यावरणमैत्री रहेको हुँदा नगरपालिकाबाट रुख रोपौं हरियाली बढाउजस्ता अभियानहरु संचालन गर्दै आईरहेको हुँदा यो वृक्षारोपण कार्यक्रमबाट वनजंगल सम्पदाको संरक्षण हुनेमा जोड दिएका छन् ।
डिभिजन वन कार्यालयको प्रमुख अमरदेव यादवले चन्द्रपुरको उक्त जग्गा मरधर सिमसार क्षेत्र भए पनि खाली पर्ती जग्गामा पशु चौपायाहरुको चरिचरण मात्रै रहेको बताउँदै ६ हेक्टर जग्गामा ११ हजार बिरुवा रोप्ने लक्ष्यअनुसार आइतबार सम्पूर्ण क्षेत्रमा बिरुवा रोप्ने कार्य पूरा भएको बताएका छन् ।
बिरुवा रोप्ने कार्यमा नेपाली सेनाको मुख्य भूमिका रहेको छ । बिरुवा रोपिएको क्षेत्रलाई घेराबेरा वन कार्यालयले गर्ने तथा बिरुवाको रेखदेख र सुरक्षा नेपाली सेनाले गर्ने बताइएको छ । नेपाली सेनाले बिरुवाको जिम्मा लिएपछि बिरुवाको संरक्षण हुने विश्वास सर्वसाधारणमा पलाएको छ ।
प्रकाशित: १३ असार २०७८ १३:०८ आइतबार



