काठमाडौं- स्थानीय निकायमा भएको भ्रष्टाचार रोक्न र संलग्नलाई कारवाहीको माग गर्दै १३ दिनदेखी खुलामञ्चमा अनसनमा बसेकी शारदा भुषाल झाले अनसन तोडेकी छिन्।झाले यो देशको सरकार मरेको भन्दै सरकारको श्राद्ध गरेर अनसन तोडेकी हुन्। अनसन बसेको १३ दिनसम्म सरकारले मागको विषयमा कुनै सुनुवाई नगरेपछी झाले शनिवार प्रधानमन्त्री निवास वालुवाटार अगाडी सरकारको १३ दिनको क्रियाकर्म गरी अनसनको अन्त्य गरेकी हुन्। अनसन तोड्दै उनले यो देशमा सरकार, व्यवस्थापिका, कार्यपालीका र न्यायपालीका सबैको मृत्यु भैसकेकाले न्यायको आश नभएकाले अनसन तोडको बताइन। 'सरकार मरिसकेको छ। त्यसैले मरेको सरकारसँग सम्झौता हुन सक्दैन भनेर अनसन तोडेकी हूँ' उनले भनिन्, 'अब मलाई सरकारले केही गर्छ भन्ने आश छैन त्यसकारण अब न्यायका लागी जनताका माझ जान्छु।' झाले अब कहिले अनसन नबस्ने तर भ्रष्ट्राचारी र विकृतीको विरुद्धमा आवाज भने उठाइरहने बताइन। उनले भ्रष्ट्राचारीहरुको संरक्षणमा सरकार नै लागेकाले अब जनतामाझमा गएर भ्रष्ट्राचारीहरुको पर्दाफास गर्ने तर्फ लाग्ने जनाइन। 'अनसन बसेर होइन गाँउ गाँउमा गएर भ्रष्ट्राचार विरुद्ध चेतना फैलाउने छु' उनले भनिन्, 'जनतालाई नै जागरुक बनाएर भ्रष्ट्राचारीको असलि अनुहार बाहिर ल्याउने छु।' अनसन तोड्नु अघि झाले वालुवाटारमा १० वजे गरेको श्राद्धको पिण्ड चढाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। झाले श्राद्धको पिण्ड वालुवाटरको तीन नम्बर गेटमा चढाउने तयारी गरेकी थिइन। गेटतर्फको झाको टोली आउने थालेपछी प्रहरीले उनिहरुलाई रोकेको थियो। श्राद्ध लगत्तै अनसन तोड्ने क्रममा सुप खाइसकेपछी झा बेहोस भएकी थिइन। बेहोस भएकी झालाई उनका सहयोगीले त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार गरेका छन्। उपचारका क्रममा चिकित्सकले झालाई केही दिन स्लाइन पानी दिएर राख्नुपर्ने बताएको थिया। तर झाले घरमा नै गएर आराम गर्छु भनेपछी अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो ।
प्रकाशित: १८ माघ २०७० ०६:४५ शनिबार