समाज

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ। 

दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामध्ये २५४ जनाको उद्धार भइसकेको छ। सोही आयोजनाको सुरुङमा अझै पनि ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ। अहिले सो सुरुङमार्गमा खोजी भइरहेको छ।

त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट पनि ९३ जना सम्पर्कविहीन भइरहेका छन्। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ। लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १८ जनाको उद्धार भएको छ। 

त्यसैगरी, चिलिमे हाइड्रोपावरबाट आठ जना सम्पर्कविहीन भइरहेका छन्। मैलुङ खोला हाइड्रोपावरबाट सात जना सम्पर्कविहीन भएका छन्। त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भएका छन् । देवीघाट जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भइरहेका छन्। माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन्। 

माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामध्ये ९१ जनाको जिवितै उद्धार गरिएको छ। मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन्।

प्रकाशित: १३ भाद्र २०८३ १७:४२ शनिबार