बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु प्रदर्शनीमा हिन्दकुश हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले पारेका असर विभिन्न माध्यमबाट हेर्न र थाहा पाउन सकिन्छ। परिवर्तनका समस्यामा आकर्षक तस्बिर, वृत्तचित्र, कथासहितका तस्बिर, अन्तर्त्रि्कया र गोष्ठीमार्फत बुझ्न र सिक्न पाइने व्यवस्था गरिएको आयोजक बताएका छन्।
इसिमोड, ग्लेसियरवर्कस्, युनिसेफ, अमेरिकी दूतावास लगायतले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीलाई जलवायु परिवर्तनबारे सिक्ने र बुझने शैक्षिक मेलाका रुपमा पनि विकास गरिएको छ। प्रदर्शनीमा पुग्ने आगन्तुकलाई अन्तर्त्रि्कयात्मक कार्यक्रममार्फत त्यसबारे जानकारी दिने व्यवस्था पनि गरिएको छ।
'परिवर्तनले गर्दा प्रकृतिमा के–कस्ता असर परिरहेका छन्, कुन–कुन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ र यसका कारणहरु के–के हुन्? भन्नेजस्ता मुद्दाबारे जानकारी दिने व्यवस्था गरिएको छ,' इसिमोडकी वरिष्ठ सञ्चार अधिकृत नीरा गुरुङले भनिन्।
उनका अनुसार यो प्रदर्शनी चैतको अन्तिम सातासम्म खुला रहनेछ। हरेक महिना फरकफरक विषयमा अन्तर्त्रि्कया र गोष्ठीहरु पनि गरिनेछ। विशेषगरी युवापुस्ता, बसाइसराइ, हावापानी, दीगो बसाइ, पारिस्थितिकीय प्रणाली र पर्यटन, संस्कृति र सम्पदाजस्ता विषयमा अन्तर्त्रि्कया र गोष्ठी पनि हुनेछन्। 'उल्लेखित विषयमा चित्र, वृत्तिचित्र र विवरण पनि राखिनेछ,' गुरुङले भनिन्।
प्रदर्शनी ग्यालरी भवनको तेस्रो तलामा दर्शकले संसारका सबैभन्दा अग्ला पर्वतहरु हेर्न पाउनेछन्। भुइँ तलामा विश्वव्यापी रुपमा सहरी क्षेत्रमा जलवायु परिवर्तनले पारेका असर देखिने चित्र राखिएका छन्। ब्ल्याक कार्बन, काठमाडौंको वायु प्रदूषण, खानेपानी समस्या, जल प्रदूषण र जनसंख्या वृद्धिजस्ता विषय समेटिएको छ। पहिलो तलामा नेपालसहित अरु मुलुकले प्राकृतिक प्रकोपको सामना गर्न र पारिस्थितिकीय प्रणालीको संरक्षण गर्न गरेका काम देख्न पाइन्छ।
माथिल्लो तलामा ग्लेसियरवर्कस्का ठूला, आकर्षक तस्बिरले दर्शकलाई सगरमाथा क्षेत्र वरपरको बदलि"दो भू–परिधिबारे ज्ञान हासिल गर्न सहयोग पुर्याउँछ। विभिन्न वैज्ञानिकको व्याख्या मार्फत संसारकै उच्चस्थानमा रहेका हिमनदीमा जलवायु परिवर्तनको असर कस्तो परेका छ भन्नेबारे पनि जानकारी दिइएको छ। उच्च क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारणहरुको जीवनबारे तस्बिरसहितका संक्षिप्त विवरण पढन पाइन्छ।
प्रदर्शनीले शिक्षक र विद्यार्थीलाई जलवायु परिवर्तन विज्ञान र यो विषयमा जुझारु हुन सहयोग पुग्ने विश्वास आयोजकको छ। प्रदर्शनीमा राखिएका केही विषयवस्तु बुक–बस घुम्ती पुस्तकालयमार्फत देशका विभिन्न दुर्गम क्षेत्रमा पुर्याउने कार्यक्रम पनि छ। जलवायु परिवर्तनसम्बन्धी ज्ञान र चुनौतीलाई स्थानीय तहसम्म पुर्याउन यो कार्यक्रम राखिएको आयोजकले बताएका छन्।
प्रदर्शनीको सम्पूर्ण ढाँचा र क्युरेसन न्युयोर्कस्थित थिंक डिजाइनले गरेको हो। स्थानीय व्यवस्थापन र क्युरेसन फोटोसर्कलले गरेको हो। प्रदर्शनीका लागि आर्थिक सहयोग गर्ने संस्थामा इसिमोड फाउन्डेसन, अमेरिकी दूतावास, नेपाल पर्यटन बोर्ड, युनिसेफ छन् भने नेपाल आर्ट काउन्सिल र अन्य संघसंस्थाको सहकार्य पनि छ।
प्रकाशित: २७ मंसिर २०७० २१:४९ बिहीबार