समाज

आलम हत्याका अभियुक्त पुर्पक्षको लागि थुनामा

बारा - बारा जिल्ला अदालतमा बाराको क्षेत्र नं. ४ का एमाले उम्मेदवार महमुद आलमको हत्या अभियोगमा पक्राउ परेकाहरुलाई आइतबार पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।जिल्ला अदालतका ५ नम्बरका माननीय न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाको एकल इजालासले हत्या अभियोगमा पक्राउ परेका रामचन्द्र कुशवाहा प्यासी, सिमावर्ती सहर रक्सौल निवासी राजु श्रीवास्तव र भारत अलिगढ घर भई हाल वीरगंज १४ बस्दै आएका अतिक खानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको कुरा बारा जिल्ला अदालतले जनाएको छ।
अदालतका श्रेस्तादार रौशन भट्टराईले तत्कालको लागि अदालतले पुर्पक्षमा पठाएको र पछि यसको फैसला हुने कुरा बताए।
जिल्ला न्यायाधिवक्ताको कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्र अनुसार हत्या अभियोगमा पक्राउ परेका रामचन्द्र कुशवाहा प्यासी, सिमावर्ती शहर रक्सौल निवासी राजु श्रीवास्तव र भारत अलिगढ घर भई हाल वीरगंज १४ बस्दै आएका अतिक खानलाई कर्तव्य ज्यान अभियोगको जान सम्बन्धि महलको १३(४) अनुसार सजाय हुनु पर्ने दावी गरेको जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले बताए।  
जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले पक्राउ परेका अभियुक्तहरुको संलग्नता अपराधीसँग गरिएको फोन सम्पर्क, एसएमएस र मोबाइलको लोकेसनबाट प्रष्ट भएकोले तीनै जनालाई दोषी ठहर गरी हदैसम्मको सजाय हुनु पर्ने माग गरेका थिए।
बारा जिल्ला अदालतको इजलास नं. ५ मा १२ गते देखि शुरु भएको थुनछेक बहसमा पाँच दिन पछि मात्रै थुन छेक आदेश आएको हो।
प्रतिवादीका तर्फका अधिवक्ताहरुले न्यायाधिवक्ताको कार्यालयले अभियोग पत्रको साथमा पेश गरेका मौकाका कागजातहरु काल्पनिक भएकोले प्रतिवादीहरुलाई साधारण तारेखमा छोडन माग गरेका थिए।

प्रकाशित: १६ मंसिर २०७० ०६:२० आइतबार