समाज

झुम्का कारागारका ५१२ कैदी अझै फरार

जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये अझैसम्म ५१२ जना फरार रहेका छन् ।  फरार कैदीबबन्दीलाई जिल्ला प्रशासनले खोजी तिब्र पारेको छ ।  

असोज २० गतेभित्र नफर्किए कानुन बमोजिम कारबाही गरिने सूचना जारी गरिएपनि अहिलेसम्म नफर्किएका उनीहरुलाई प्रहरीसमक्ष सूची बुझाएर खोजी तिब्र पारेको हो । फरार सूचीमा रहेकामध्ये विभिन्न अपराधका घटनासँगै सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिहरु समेत रहेका छन् ।  

कारागार प्रशासनका राम निरौलाका अनुसार यसअघि पनि कारागार प्रशासनले कैदीबन्दीलाई फर्कन आह्वान गरेकोमा अझै धेरै बाहिरै रहेकाले गर्दा केन्द्रको सकुर्लर अनुसार नै जिल्लास्तरीय कार्यदल बनेर खोजी कार्यका लागि काम भइरहेको छ  ।  

कारागारबाट बाहिरिएका कैदीबन्दीमध्ये हालसम्म एक हजार २४१ जना आएका छन् । यीमध्ये कतिपय आफै सम्पर्कमा आएको र कतिपयलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरि कारागारमा बुझाएको जेल प्रशासनले जनाएको छ । आफै सम्पर्कमा आएकामध्ये सवैभन्दा बढी भागेको एक साताभित्र सम्पर्कमा आएका थिए । त्यसपछि भने न्यून संख्यामा मात्र सम्पर्कमा आएको जेल प्रशासनले जनायो ।  भदौं २४ गते राति कारागारबाट एक हजार ७५३ जना कैदीबन्दी बाहिरिएका थिए ।

जेन जी पुस्ताले थालेको आन्दोलनका क्रममा आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरु निस्किएको थियो । त्यसपछि क्रमशः ब्लक ‘ए’ का पनि कैदीबन्दी निस्किएर हिँडेका थिए ।  

कैदीबन्दी बाहिरिन थालेपछि जेल प्रशासनले सेनालाई खबर गरेता पनि समयमै नपुगेकाले गर्दा उनीहरु बाहिरिएका थिए ।  झुम्का कारागारको ‘ए’ र  ‘बी’ ब्लकमा यतिबेला एक हजार ३५५ जना  कैदीबन्दी रहेका छन् ।  

 

प्रकाशित: २३ मंसिर २०८२ १८:५८ मंगलबार