काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
उनका अनुसार हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन् । ट्राफिक प्रहरीले विभिन्न समयमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्दा ती सवारीसाधन फेला पारेको जनाएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेले सवारीसाधनको सुरक्षामा स्वयं धनी पनि सचेत हुनुपर्ने बताउँदै हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरे । उनले सवारीसाधन जथाभावी तथा एकान्त स्थानमा पार्किङ नगर्न, जिपीएसलगायत सुरक्षा उपकरण जडान गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिए ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म हराएका तथा चोरी भएका ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाइ सकिएको जानकारी दिए।
उनका अनुसार चालु आवमा मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ । त्यसैगरी, तीन वटा चारपाङ्ग्रे सवारीसाधन र दुई वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।
प्रवक्ता सुवेदीले व्यक्तिगत सतर्कता, प्रविधिको प्रभावकारी प्रयोग र भौतिक सुरक्षाको संयोजनबाट सवारीसाधन चोरी नियन्त्रण गर्न सकिने बताए ।
आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरीले जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानी बढाइरहेको उनले जानकारी दिए ।
हराएका तथा चोरी भएका सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गराउने अभियानले नागरिकमा प्रहरीप्रतिको विश्वास बढाउनुका साथै सवारीसाधन चोरी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । फेला परेका सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।
प्रकाशित: २० कार्तिक २०८३ १९:५७ शुक्रबार