समाज

राजमार्ग किनारमा बाघ देखिएपछि...

पूर्व पश्चिम राजमार्गको किनारमा गरिएको झाडी सफाई । तस्बिरः पुष्पराज/नागरिक

माघ अन्तिमसाता कैलालीको मध्यवर्ती क्षेत्रको जंगलमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थाल्यो। कैलारी गाउँपालिकाको दुधियामा स्थानीय २८ वर्षीय दुर्गा चौधरीलाई आक्रमण गरेर घाइते बनाएको बाघ त्यहाँबाट दोस्रो दिन मसुरियाको बढैपुर जंगलमा देखियो। 

तेस्रो दिन गौरीगंगा नगरपालिका–५, अण्डैया पुगेको बाघले स्थानीय २५ वर्षीया कला धामीलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भयो। बाघले कैलारीको दुधिया र अण्डैयामा आक्रमण गरेपछि त्रसित बनेका स्थानीयले भने सडक किनारको झाडी सफा गरेका छन्। बाघको मुभमेन्ट बढ्न थालेको र सडक भएर आउजाउ गर्ने यात्रुहरुलाई आक्रमण हुन सक्ने भन्दै स्थानीय सामुदायिक वनले सडक किनारको झाडी सफाइ गरेका हुन्।    

पूर्व पश्चिम राजमार्ग किनारमा रहेका सामुदायिक वन र हसुलिया क्षेत्र जाने सडक किनारका वन क्षेत्रमा झाडी सफाइ गरिएको हो। सो सडक भएर यात्रुहरु आउजाउ गर्न डराउन थालेपछि सडक किनारको झाडी सफाई गरिएको सामुदायिक वनका पदाधिकारी बताउँछन्। ‘पूर्व पश्चिम राजमार्गको बढैपुर–राजीपुर क्षेत्रमा रहेका चार वटा सामुदायिक वनमा झाडी सफाइ गरिएको छ,’ सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘बाघको मुभमेन्ट बढ्न थालेपछि सडक यात्रा गर्ने यात्रुहरु डराउन थाले, त्यसैले सडक किनारको झाडी सफाइ गरिएको हो।’ 

उनका अनुसार गौरीगंगा नगरपालिकाका वडा नम्बर ४ स्थित हरियाली वसन्ता सामुदायिक वन र कालिका सामुदायिक वन र वडा नम्बर ८ को गौरी गणेश सामुदायिक वन र शिवशक्ति सामुदायिक वन तथा वडा नम्बर ९ को हरियाली सामुदायिक वन र शिवशंकर सामुदायिक वनमा सडक किनारको झाडी सफाइ गरिएको हो। ‘बाघको ओहोर दोहोरमा यात्रुले टाढैबाट देख्न सक्ने भएकाले झाडी सफाइ गरिएको हो,’ उनले भने,‘अहिले त्यस क्षेत्रमा मोटरबाटो हिँड्ने यात्रुहरु निर्धक्कसँग आवतजावत गरिरहेका छन्।’  

सडक किनारका जंगल सफाई फागुनमै गरिएको बताउँदै उनले भने,‘यो क्षेत्रको सडक किनारको झाडी सफाई फागुनमै गरिएको हो।’ सडक किनारको २५ मिटर एरिया र सामुदायिक वन क्षेत्रको २५ मिटर गरेर सडक किनारको ५० मिटर क्षेत्रमा झाडी सफाइ गरिएको उनले बताए।  

सडकमा हिँडडुल गर्दा बाघ टाढैबाट देखियोस् र ज्यान जोगाउन सहज होस् भनेर स्थानीय सामुदायिक वनले राजमार्ग किनारको झाडी सफाइ गरेको डिभिजन वन कार्यालय कैलालीका डिभिजनल प्रमुख रामचन्द्र कँडेलले बताए। उनले भने,‘झ्याप्पै बाघ नआओस् भनेरै झाडी सफाइ गरिएको हो।’

प्रकाशित: १९ चैत्र २०७७ १०:२७ बिहीबार

राजमार्ग किनार कैलालीको मध्यवर्ती क्षेत्रको जंगल बाघ