समाज

रक्सी बनाउन भ्यागुतोको समेत प्रयोग

सर्लाही - सर्लाही सदरमुकाम मलंगवामा वर्षौदेखि सञ्चालन हुँदै आएको आठ अवैध मदिरा भट्टीमा प्रहरीले आज बिहान छापा मारेको छ। आज बिहान प्रहरीले छापा हाली हजारौ लिटर मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ। लाखौँ मोल बराबरको मदिरा बनाउने मेसिन र भाँडाकुँडा प्रहरीले नियन्त्रणमा लिएको छ। सदरमुकामको विभिन्न वडामा मदिरा उत्पादन गर्नका लागि खोलिएको भट्टीहरुमा प्रहरीले अचानक छापामारी गरेको हो।आठ वर्षदेखि सञ्चालनमा रहेको मदिरा भट्टीमा बिहान प्रहरीले गोप्य रुपमा छापामारेको थियो। तर प्रहरी आउँदै गरेको सूचना पाएर भट्टीमा कार्यरत कामदार र सञ्चालक फरार छन्। प्रहरीले 'विशेष सर्च अभियान'को क्रममा करिव १० हजार लिटर तयारी मदिरा र कच्चा पदार्थ नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। 
सर्चको क्रममा प्रहरीले ९ थान मेसिन, १६ थान एल्मुनियमका ठूलो भाँडो, १४ वटा टिनको ड्रम, ४ वटा प्लाष्टिकका ड्रम, ६० थान प्लाष्टिकका ग्यालेन, १ थान ग्यास सिलिण्डर र चुल्हो बरामद गरिएको प्रहरी निरीक्षक साहले बताए। 
प्रहरीले मलंगवा–९ का गंगाराम चौधरी, विनोद चौधरी, मलंगवा–१० का अमरनाथ चौधरी, किशोरी चौधरी, मलंगवा–६ का कारि साह, मलंगवा–४ का कृष्ण चौधरी, मलंगवा–२ का विरेन्द्र श्रेष्ठ र सियाराम रायको अवैध मदिरा भट्टीमा प्रहरीले छापा मारेको हो।
मदिरा तयार गर्नका लागि घोलेर राखिएका कच्चा पदार्थमा जुटका बोरा, युरिया मल, पुरानो कपडा तथा भ्यागुतो समेत प्रहरीले फेला पारेको थियो। सादा पोसाकमा प्रहरी खटाएर जिल्लामा सञ्चालन हुँदै आएको अवैध मदिरा भट्टीको सूचना संकलन गरिएको प्रहरीले जनाएको छ। सदरमुकाम बाहिरका अवैध भट्टीमा पनि प्रहरीले छापा मार्ने तयारी गरिरहेको प्रहरी निरीक्षक साहले बताए। 
मदिार सेवन गरी शान्ति सुरक्षामा खलल पुग्ने भएकोले सर्लाहीमा राती ८ बजे पछि होटेलहरु बन्द गराउँदै आएको छ।

प्रकाशित: २५ श्रावण २०७० २३:२२ शुक्रबार