वैदेशिक रोजगार ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि ठगी आरोपमा पक्राउ पुर्जी जारी भएका ४७ जना विभागको सम्पर्कमा आएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका अनुसार सम्पर्कमा आएका उनीहरूले पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेका छन् ।
विभागले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र उपस्थित हुन गत कात्तिक १९ गते पत्राचार गरेको थियो । तोकिएको अवधिमा उपस्थित नभए ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गरिने चेतावनीसमेत विभागले दिएको थियो ।
तोकिएको समयभित्र सम्पर्कमा नआएका आरोपितको हकमा ३५ दिनको अवधि पूरा भएपछि बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने प्रक्रिया अघि बढाउन विभागले निर्देशन दिएको छ ।
विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रकाशित: १० मंसिर २०८३ १९:०१ बिहीबार