समाज

पाकिस्तानको हिमालमा मारिने नेपाली पनि

काठमाडौं -  तालिवानसमर्थित एक समूहले पाकिस्तानको नान्गा पर्वत आरोहण गर्न गएका एक नेपालीसहित १० विदेशीको हत्या गरेका छन्।नान्गाको आधार शिविरमा उनीहरूलाई स्थानीय समयअनुसार शनिबार राति १० बजेतिर जुनडुल्लाह नामक हतियारधारी समूहले लुटपाटपछि अन्धाधुन्ध गोली हानेका थिए।
पाकिस्तानी तालिवानसँग आबद्ध जुनडुल्लाह (भगवानका सेना)ले नेपाली नागरिक सोना शेर्पासहित पाँच युक्रेनी, तीन चिनियाँ र एक रुसी पर्वतारेहीको हत्या गरेको नेपाली दूतावासले पुष्टि गरेको छ। सोलुखुम्बु छेस्कामका ३५ वर्षीय सोनाम काठमाडौं, नयाँ बजारमा बस्थे। घटनामा एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ।
'जुनडुल्लाह नामक समूहले सोना शेर्पासहित १० विदेशी पर्वतारोहीको हत्या गरेका छन्,' पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले नागरिकलाई भने, 'नान्गा पर्वतको आधारशिविरमा उनीहरूको हत्या भएको हो।'
काठमाडौंको सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनमार्फत नौ नेपाली र पाँच विदेशी गरी १४ जनाको समूह नान्गा पर्वत आरोहण गर्न जेठ २७ गते काठमाडौंबाट गएका थिए। स्थानीय नजिर–सबिर एक्सपिडिसनले आरोहणको जिम्मेवारी लिएको थियो।
विश्वको नवौं अग्लो हिमशिखर नान्गा (८१२९ मिटर) आरोहण गर्न गएको समूहमध्ये ८ नेपाली दोस्रो आधार शिविरसम्म बाटो बनाउन गएकाले उक्त घटनामा नपरेको दूतावासले जनाएको छ।
मारिएका तीनमध्ये दुई चिनियाँ नागरिक विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरी देशका तर्फबाट 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड' मा नाम लेखाउने अभियान अन्तर्गत नान्गा पर्वत आरोहण गर्न गएका थिए। मारिने दुई चिनियाँले आठ हजार मिटरभन्दा अग्ला ११ वटा हिमाल चढिसकेको सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक मिङमा शेर्पाले बताए।
मारिने नेपाली पर्वतारोही सोनाले तीनपटक सगरमाथा र एकपटक नान्गा पर्वत आरोहण गरिसकेका थिए। राजदूत पौड्यालका अनुसार शनिबार आधारशिविरमा रहेको टेन्टमा सोनासहित अन्य पाँच जना विदेशी र अन्य पर्वतारोही टेन्ट गाडी बसेका थिए।
शनिबार राति करिब १० बजेतिर बन्दुकधारी समूह आएर उनीहरूको पैसा र सामान बटुलेका थिए। साथमा रहेको सामान बुझेपछि बन्धुकधारी समूहले अन्धाधुन्ध गोली चलाएका थिए। आइतबार बिहान चार बजेतिर दूतावासले नेपालीसहित १० विदेशी पर्वतारोहीको मारिएको खबर पाएको थियो।
'लुटपाटपछि गोली हानी पर्वतारोहीको हत्या गरिएको रहेछ,' राजदूत पौड्यालले भने, 'घटनाबारे जानकारी पाउनेबित्तिकै त्यहाँ बच्न सफल अन्य नेपालीको सुरक्षा र मरेकाको शव इस्लामावाद ल्याउन पाकिस्तानी अधिकारीहरूसँग समन्वय गरेका थियौं।'
सोनासहित अन्य विदेशीको शव स्थानीय समयअनुसार पौने ६ बजेतिर पाकिस्तानी वायु सेनाको जहाजमा इस्लामवादा ल्याइएको छ। आवश्यक प्रक्रिया पूरा गरी सोनाको शव जतिसक्दो छिटो नेपाल पठाइने दूतावासले जनाएको छ।
शव पहिचान गर्न घटनास्थलबाट अर्का नेपाली मिङमा शेर्पालाई पनि इस्लामावाद ल्याइएको थियो। बचेका ८ जनामध्ये ७ नेपालीलाई नान्गा पर्वतको पहिलो आधार शिविरमा झारिएको छ। नेपालीसहित ६० विदेशी अहिले त्यहाँ छन्। उनीहरूलाई पाकिस्तानी सेनाले उच्च सुरक्षा दिइरहेको छ। मौसमले साथ दिए उनीहरूलाई सोमबार इस्लामवाद ल्याइने राजदूत पौड्यालले बताए।
पाकिस्तानको तालिवान समूहले अज्ञातस्थलबाट अन्तर्राष्ट्रिय समाचार संस्था एपीका संवाददातालाई टेलिफोन सम्पर्क गरी घटनाको जिम्मा लिएको थियो। पाकिस्तानी तालिवानका प्रवक्ता असनउल्लाह आसनले आक्रमण आफूहरूसँग आबद्ध जुनडुल्लाह नामक समूहले गरेको बताएका छन्। गत जेठ १५ गते अमेरिकी मानवरहित विमान ड्रोनको आक्रमण तालिवान नेता वालियर रेहमान मारिएको बदलास्वरूप १० विदेशीको हत्या गरिएको उनले एपीलाई बताएका छन्।
घटनापछि पाकिस्तानकै अन्य तीन हिमाल गसेरब्रम–१, गसेरब्रम–२ र के–२ आरोहण गर्न काठमाडौंबाट इस्लामावाद पुगेको ५० जनाको समूह अन्योलमा परेको छ। यो समूहमा १६ नेपाली रहेको सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनले जनाएको छ। 'आरोहण गर्न गएको समूहलाई अघि बढाउने कि फिर्ता गर्ने द्विविधामा छौं,' प्रबन्ध निर्देशक शेर्पाले भने।
..................................
के हो जुनडुल्लाह?
जुनडुल्लाह अर्थात भगवानको सेना इरानमा सुन्नी मुसलमानहरुको अधिकार रक्षा गर्ने भन्दै सन् २००३ मा संगठित भएको पाकिस्तानी सशस्त्र समुह हो। अबदुलमलिक रिजी यसका संस्थापक हुन्, जसलाई पक्राउपछि सन् २०१० मा इरानमा मृत्युदण्ड दिइएको थियो। यो समूहसँग ७ सयदेखि २ हजारसम्म लडाकु रहेको अनुमान छ। यो समूह माथि एक सय ५४ जना इरानी मारेको र ३ सय २० जनालाई घाइते बनाएको आरोप छ। जुनडुल्लाहले भने सन् २००३ यता ४ सय इरानी सेना मारेको दाबी गर्दै आएको छ।
एकआपसमा कट्ट दुश्मन मानिएका इरान र अमेरिकाबीच यो समूहलाई हेर्ने दृष्टिकोण भने समान छ। इरान र अमेरिकाले यो समूहलाई आतंकवादीको सूचीमा राखेका छन्। हत्या तथा अपहरण गरी आतंक सृजना गर्ने, लागुपदार्थ ओसारपसारको आरोप यो समूहमाथि छ। अलकाइदासँग पनि यो समूहको सम्बन्ध रहेको आरोप छ। इरानले यो समूहलाई अमेरिका र बेलायतले सहयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ। एबिसी न्यूज, टेलिग्राफ लगायत केही पत्रकारले समेत इरान विरुद्ध लड्न जुनडुल्लाहले अमेरिका र बेलायतबाट सहयोग प्राप्त गर्दै आएको बताउँदै आएका छन्।
पाकिस्तानद्वारा भर्त्सना
नाङ्गा पर्वत आरोहण गर्न गएका विदेशी आरोही माथि शनिबार भएको आक्रमणको पाकिस्तान सरकारले भर्त्सना गरेको छ। घटनालाई आतंकारीको बर्बरतापूर्ण आक्रमण भन्दै पाकिस्तान विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी पीडित र उनका परिवारलाई धैर्य धारण गर्न आग्रह गरेको छ। पाकिस्तान र अन्य देशबीचको सम्बन्ध प्रगाढ भएको देख्न नचाहने तत्वले आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ। पाकिस्तानका प्रधानमन्त्रीले पनि अमानविय र त्रु्कर उक्त घटनाको निन्दा गर्दै दोषीहरुलाई न्यायको कठघरामा उभ्याउने बताएका छन्।

प्रकाशित: ९ असार २०७० २२:११ आइतबार