पुजारी गिरिश भट्टलाई पशुपतिनाथको उत्तर मुहार र राघवेन्द्र भट्टलाई वासुकीनाथ मन्दिरको जिम्मेवारी दिइएको छ। सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राख्दै बिहान ७ देखि २ बजेसम्म सर्वसाधरणलाई पशुपति प्रवेशमा रोक लगाइएको छ। सुरक्षाकर्मीको एस्कर्टिङमा उनीहरुले पशुपति क्षेत्रको पनि परिक्रमा गरेका छन्। भट्ट पुजारीले परिक्रमा गरिरहँदा पशुपति मन्दिर क्षेत्रमा सञ्चारकर्मीलाई समेत छिर्न रोक लगाइएको थियो।
पशुपति क्षेत्र विकास कोष अन्तर्गतका कार्यलयहरुमा आइतबारदेखि लगाइएको ताला शनिबार नै खोलिने सदस्य सचिव सुशील नाहाटाले बताए। 'आन्दोलनकारीले सहमति चाहँदैनन् भने हामी जस्तोसुकै कदम चाल्न तयार छौ'- उनले भने। शनिबार विदा परेका कारण कोषको मुख्य कार्यलयको ताला आइतबार मात्र खोलिने छ।
मन्दिर प्रवेश गरी पुजारी नियुक्ति संघर्ष समितिका व्यक्तिहरुले पुजारीमाथि हातपात गरेपछि शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ मन्दिर वरिपरिको २ सय मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। शनिबारदेखि सुरक्षाका लागि पशुपति क्षेत्रमा एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले पशुपतिनाथ मन्दिर वरिपरि २४ घण्टै पहरा दिनेछन्।
भारतीय पूजारी नियुक्त गरेको विरोधमा गठन गरिएको पूजारी नियुक्ती संघर्ष समितिका व्यक्तिहरुले शुक्रबार दुवै मुलभट्टलाई मन्दिरबाट बाहिर निकाली हातपात गर्दै जनै चुडाइदिएका थिए। संघर्ष समिति माओवादी निकट मानिन्छ।
प्रकाशित: २० भाद्र २०६६ ०७:२५ शनिबार