समाज

पुरातत्वमा ४ करोडको भ्रष्टाचार, सिडिई र सहायकविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध ४ करोड २२ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

निर्माण व्यवसायीहरूसँग घुस लिई सम्पत्ति शुद्धीकरणसमेत गरेको पुष्टि भएपछि आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

सिडिई श्रेष्ठले पुरातत्व विभागबाट सञ्चालित विभिन्न ठेक्कापट्टामा सहजीकरण गरिदिएबापत निर्माण व्यवसायीहरूबाट घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

उनले ६४ करोड २१ लाख ८९ हजार ६०३ रुपैयाँ बराबरको ठेक्का प्रक्रियामा संलग्न रहँदा पदको दुरुपयोग गरी ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ अवैध रूपमा आर्जन गरेको आयोगले जनाएको छ।

अनुसन्धानका अनुसार श्रेष्ठले घुसबापतको रकम सोही विभागमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको बैंक खातामा जम्मा गराउने गरेका थिए।

उक्त अवैध आम्दानी लुकाउन उनीहरूले अधिकारीको एकल र श्रेष्ठसँगको संयुक्त नाममा विभिन्न स्थानमा जग्गा र सुन खरिद गर्ने गरेको भेटिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूले भ्रष्टाचारको रकमबाट ९९.६८ ग्राम सुनका गहना, नुवाकोटको सुनखानी र काठमाडौं महानगरपालिका-६ मा घरजग्गा खरिद गरेको पाइएको छ।

अवैध स्रोत लुकाउन ‘छद्म स्वामित्व’ सिर्जना गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको आयोगको ठहर छ।

आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम कारबाहीको माग गरेको छ।

अधिकारीलाई भने श्रेष्ठले गरेको भ्रष्टाचारमा मतियार बनेको अभियोग लगाइएको छ।

प्रकाशित: ८ वैशाख २०८३ १८:०५ मंगलबार