समाज

काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण

काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार गत साउन १ गतेदेखि यही असोज १२ गतेसम्मको अवधिमा जिल्लाभर ४१ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये २० पुरुष र २१ महिला रहेका छन्।  

पछिल्लो २४ घण्टाको अवधिमा भने जिल्लाका कुनै पनि पालिकामा डेङ्गीका नयाँ बिरामी नथपिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी शिशिर पुडासैनीले बताए।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका १३ स्थानीय तहमध्ये चार पालिकामा मात्रै डेङ्गी सङ्क्रमण देखिएको छ।

सबैभन्दा बढी पाँचखाल नगरपालिकामा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ११ पुरुष र १० महिला छन्।

सूचना अधिकारी पुडासैनीका अनुसार बनेपा नगरपालिकामा १३ जना (छ पुरुष र सात महिला), मण्डनदेउपुर नगरपालिकामा छ जना (दुई पुरुष र चार महिला) तथा नमोबुद्ध नगरपालिकामा एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ।

धुलिखेल र पनौती नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहमा भने हालसम्म डेङ्गीको कुनै पनि सङ्क्रमित दर्ता नभएको कार्यालयले जनाएको छ।

सूचना अधिकारी पुडासैनीका अनुसार पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित नथपिए पनि मनसुनी जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन आवश्यक छ।

उनले घरवरपर पानी जम्न नदिन, लामखुट्टेको बासस्थान नष्ट गर्न ‘खोजी र नष्ट गर’ अभियान सञ्चालन गर्न तथा व्यक्तिगत सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरे।

प्रकाशित: १२ आश्विन २०८३ १६:५३ सोमबार