मेची राजमार्गको इलाम नगरपालिका-९ गोलाखर्कबाट प्रहरीले १५ क्विन्टल गाँजा बरामद गरेको छ। मंगलबार साँझ करिब साढे ६ बजे चेक जाँचक्रममा ट्रकमा फिक्कलतर्फ लैजाँदै गरिएको ४१ बोरा गाँजा प्रहरीले बरामद गरि बुधबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका एसपी कुलदीप चन्दले इलाम-पाँचथरको सीमा राँकेबाट इलाम बजार हुँदै गोलाखर्कबाट राजदुवाली भएर फिक्कलतर्फ जानलागेको अवस्थामा ना ४ ख ८०९६ नम्बरको ट्रकमा शंका लागि चेकजाँच गरिएको बताए।
‘केही दिनयता गोलाखर्कबाट राजदुवाली हुँदै ठूला सवारी साधन बन्द गरिएका छन्, त्यही क्रममा बाटो मोडेर ट्रकलाई इलाम–झापा फास्ट ट्र्याकतिर पठाउनेक्रममा चालकले केही शङ्कास्पद व्यवहार देखाएपछि गाडी खानतलासी गरिएको थियो,’ एसपी चन्दले भने, ‘ट्रकमा बाहिरबाट हेर्दा खाली देखिन्छ तर चालक बस्ने ठीक पछाडि डालीमा केही भाग छुट्टै पाटेसन गरी अलग्गै कोठा बनाएर गाँजा लोड गरेको पाइयो।’
प्रहरीले ट्रकको बाटो मोड्नेक्रममा चालक गाडी स्टार्टमै छाडेर ‘गाडीमा प्राविधिक समस्या आयो’ भन्दै बाहिर निस्किएको तर नफर्किएपछि शंका लागि गाडीभित्र जाँच गरिएको प्रहरीले जनाएको छ।
‘यसअघि यो रुटमा यति ठूलो परिमाणमा गाँजा बरामद भएको थिएन होला,’ एसपी चन्दले भने, ‘पहाडी जिल्लाबाट तराई वा भारततिर लैजान यो बाटो प्रयोग गरिएको हुनसक्छ, कुन जिल्लाबाट यहाँ आयो भन्नेबारे थप अनुसन्धान गरिरहेका छौं।’ बरामद गाँजा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
प्रकाशित: ७ आश्विन २०८३ १५:५२ बुधबार



