जनकपुर, चैत १५ (नागरिक) - पूर्व सभासद्हरुले संविधान सभा रहँदै जनताका अनेक गाली सहे, कतिले त झापड नै भेट्टाए। संविधान सभा विघटन भई नयाँ संविधान सभाको निर्वाचनको तयारी हुँदै गर्दा एक पूर्व सभासद्ले भने महामूर्ख उपाधि पाएका छन्। मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गरेको होरी महोत्सवका क्रममा पूर्वसभासद् एवं धनुषा कांग्रेसका सभापति रामसरोज यादवलाई सार्वजनिक रुपमै महामूर्ख घोषणा गरी विभूषित गरिएको हो।
अर्का सभासद् रामकृष्ण यादव वैशाख नन्दन तथा जनकपुर नगरपालिकाका कार्यकारी प्रमुख इन्जिनियर वीरेन्द्र यादव मच्छराधीश भए।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर राय मूर्खशिरोमणि भए भने मैथिली केन्द्रीय विभागका प्रमुख प्रा. परमेश्वर कापडीघूसकार। पूर्व नगर प्रमुख बजरंगप्रसाद साह खेसारीलाल, वाम विचारक शीतल झा हराशंख, मैथिली ब्राह्मण समाजका अध्यक्ष पवन झाबंशकुडहरि तथा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी मुसरीलाल भए।
प्रकाशित: १४ चैत्र २०६९ २१:२२ बुधबार