ताप्लेजुङमा आर्थिक वर्ष २०८२।८३ मा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। घटनामा परी ५९ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी सहायक हवल्दार सुवास काम्वाङका अनुसार एक आर्थिक वर्षमा आवश्यक कागजात नभएका ५ वटा सवारी साधन नियन्त्रण लिइ आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पठाइएको छ। एक आर्थिक वर्षको अवधिमा ८ सय ५१ वटा सवारी कारबाहीमा परेका छन्।
काम्वाङका अनुसार सवारी कारबाहीबाट कूल ८ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व असुली गरिएको छ। उक्त अवधिमा ३६ वटा ट्रक, ७ वटा बस, २ सय ६२ वटा कार र जीप, ४६ वटा ट्रयाक्टर, ४ सय ६२ वटा मोटरसाइकल, ३३ वटा सफारी र अन्य एक सवारी कारबाहीमा परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१।८२ मा १ हजार ५७ वटा सवारीमाथि कारबाही गरेको थियो। उक्त कारबाहीका क्रममा ८ लाख ३१ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको थियो।
प्रकाशित: २ श्रावण २०८३ १३:३५ शनिबार



