समाज

बन्द संस्कृति अन्त्य हुनुपर्छ : मानप अधिकार आयोग

काठमाडौं, फागुन २२ (नागरिक)- राष्ट्रिय मानव अधिकार आयोगले बन्द संस्कृति बन्द गर्न आह्वान गरेको छ। राजनीतिक अस्थिरता र अमन चैनको अवस्था सन्तोषजनक नभएको  अवस्थामा बन्दले ज्याला-मजदुरी गरेर जीविका चलाउने जनस्तर नागरिकलाई असर पार्ने भन्दै आयोगले यो संस्कृति अन्त्यका लागि आग्रह गरेको हो।

'समग्रमा सबैको मानव अधिकारमा नकारात्मक असर पर्ने भएकोले बन्दको संस्कृति अन्त्य गर्न सरोकारवाला व्यक्ति तथा संगठनहरूसँग आयोग आग्रह गर्दछ', कामु सचिव वेदप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ-  'बन्दजस्तो सर्वसाधारणलाई दवाव पार्ने कदम नउठाउन र चित्त नबुझेका कुराहरू वार्ता र संवादबाटै समाधान गर्न आयोग सम्वद्ध सबै पक्षसँग आग्रह गर्दछ।'

बन्दका कारण निर्भयपूर्वक हिंडडुल गर्न पाउने; शिक्षा, स्वास्थ्य सेवालगायतका अत्यावश्यक सेवाहरू निर्धक्क ढङ्गले उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकारको सम्मान गर्न आयोगले बन्दकर्तालाई आह्वान समेत गरेको छ।

प्रकाशित: २२ फाल्गुन २०६९ ०५:३६ मंगलबार