समाज

चोर पस्ला, सावधान!

काठमाडौं, फागुन १८ (नागरिक) - धादिङका राम श्रेष्ठ बिहीबार बिहान उठ्दा राजधानीको महाँकाल-९ स्थित डेरा-कम्पाउन्डबाट उनको नयाँ साइकल गायब थियो। झिसमिसेमै साइकल चोरिएपछि नजिकैको प्रहरी बिट पुगेका उनले देखे, 'चोरी त छिमेकतिर पनि थुप्रै भएछन्, प्रहरी रंगेहात समातिएका केही पटकेचोरलाई केर्दै थिए।'
टापटिपे र पटकेमात्र होइन, उपत्यकामा अचेल पेसेबर चोरीका ठूला घटनासमेत बढेका छन्। बौद्ध-६ महाँकाल पशुपतिमार्गको एउटा घरबाट ५० लाख बराबरको धनमाल चोरिएको ११ दिन कट्यो। कसले चोरी गर्योर, प्रहरी अनुमान पनि गर्ने अवस्थामा छैन। समयका आधारमा बिहान चोरी गर्ने समूह सक्रिय भएको आशंकामै अल्भि्कएको छ, महानगरीय प्रहरी अपराध महाशाखा।
फागुन ४ गते बिहान घरको छतबाट भेन्टिलेटर प्रयोग गरेर घरभित्र छिरेकाहरुले सुन र चाँदीका भाँडाकुडा टापटिप पारेका थिए। पीडितका अनुसार ४० किलो बढी चाँदी र ५० तोलाबराबरको सुनका गहना चोरी भएको थियो।
घटनालगत्तै महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त, बौद्धले अनुसन्धान गरिरहेको बताए पनि अनुसन्धानले आकार लिन सकेको छैन।
घरको दुइटा कोठामा भएको चोरीमा चाँदी र सुनका गहना राखिएका दराज र सुटकेसमात्रै चलाइएको छ। त्यही कोठामा रहेका अन्य सामान चोरले छोएको समेत छैन। घटनास्थलको प्रकृतिले चोरीमा संलग्नबारे धेरै तथ्यको संकेत गरे पनि महाशाखाका अधिकारी निष्कर्षहीनझैँ देखिएका छन्।
उपत्यकामा हुने ठूला चोरीको घटनाको अनुसन्धान असफलताको यो एक उदाहरणमात्रै हो। उपत्यकामा ६ महिनाभित्र भएका चोरीका घटना र त्यसको सफलताको आँकडा हेर्ने हो भने प्रहरी केवल १३ प्रतिशतमात्र सफल देखिन्छ।
अपराध महाशाखाको आँकडाअनुसार ६ महिनाभित्र उपत्यकामा तीन करोड ४० लाखबराबरको ९० वटा ठूला चोरीका घटना घटेका छन् जसमा १२ वटा घटनामा संलग्न समातिएका छन्। प्रतिशतका आधारमा हेर्ने हो भने यो कूल घटनाको १३ प्रतिशतमात्रै हो।
असोज २४ गते दरवारमार्गमा भएको एक लाख बराबरको चोरी, मंसिरमा ३ मा ठिमीमा भएको २० हजारबराबरको चोरी र नौ गते बानेश्वरमा भएको एक लाख ७५ हजारबराबरको चोरीको घटनाको अनुसन्धानमा प्रहरी सफल भएको थियो।
मंसिर १८ मा भएको नयाँ बानेश्वरको चोरी, २७ गते दरबारमार्गमा भएको ७० लाखबराबरको चोरी, पुस ८ गते बानेश्वरको चोरी, २५ गते कमलपोखरीमा भएको चोरी र माघमा लैनचौर, दरवारमार्गमा भएको चोरीका घटनाको अनुसन्धानसमेत निष्कर्षमा पुगेको प्रहरी तथ्यांक देखिन्छ।
माघ २ गते भक्तपुरमा र काठमाडौंमा भएको ६-६ लाखबराबरको चोरी, पुस ४ गते लैनचौरमा भएको १६ लाखबराबरको चोरी, पाँच गते बुढानीलकण्ठमा भएको १२ लाखबराबर चोरीका घटना विवरणको उपलब्धि कोमलमा 'अनुसन्धान जारी' उल्लेख छ।
मंसिरमा भएका ठूला घटनामध्ये लैनचौरमा भएको ६ लाख, जनसेवाको ५ लाख, गौशालाको ६ लाख, बानेश्वरको ९ लाख, कुमारीगालको १८ लाख चोरीमा संलग्न व्यक्ति वा समूह अझै फेला परेका छैनन्।
महानगरीय प्रहरी अपराध महाशाखा चोरी शाखाका डिएसपी सुरेन्द्र मैनालीले उपत्यकाको चोरीमा संगठित समूहसमेत सक्रिय रहेको तर अधिकांश चोरी अनुसन्धान सफल भएको दाबी गरे। 'त्यस्तो छैन,' बिहीबार महाशाखामा उनले भने, 'ठूला चोरीको अनुसन्धान सफल छन्।'
मंसिरमा बढी चोरी
सामान्यतया उपत्यकामा महिनाका १० ठूला चोरी हुने गरेको प्रहरी तथ्यांक छ। मंसिरमा सबैभन्दा धेरै २८ घटना भएका छन्। सोही महिना सबैभन्दा धेरै एक करोड ३ लाख चोरीको बिगो रकम खुलेको थियो।
तथ्यांकअनुसार माघमा ४४ लाखबराबरको १० वटा, चोरीका घटना भएका छन्। पुसमा १० वटै घटना दर्ता भए पनि बिगो रकम माघको भन्दा ३ लाख कम छ। मंसिरमा एक करोड ३ लाख बिगोबराबरको २८ चोरीका घटना महाशाखासम्म आइपुगेको छ।
कात्तिकमा ३१ लाखबराबरको १३ वटा, असोजमा ३८ लाख बराबरको १४ वटा, भदौंमा ८० लाख बराबरको १६ वटा ठूला चोरीका घटना भएको प्रहरी तथ्यांक छ।
फागुनमा घटेका चोरीको संख्याका आधारमा माघको तुलनामा बढ्ने देखिन्छ। १५ दिनमा ८ वटा चोरी भइसकेको छ। फागुनको १५ दिनमा महाँकालको घटनाबाहेक नै २४ लाखबराबरको चोरी भइसकेको छ। महाशाखाका अधिकारी फागुन महिनामा चोरीका घटना बढ्ने संकेत देखिएको बताउँछन्।
महाशाखाका एसपी सुकदेव न्यौपानेले उपत्यकामा बढ्दो जनसंख्या चापसँगै चोरीका घटनासमेत वृद्धि भएको स्वीकार गरे। 'बढ्दो जनसंख्यासँगै चोरीका घटना बढेका छन्,' उनले बिहीबार महाशाखामा भने, 'त्यही क्रममा अनुसन्धान पनि भएको छ।'
दिउँसो बढी चोरी
चोरी अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उपत्यकाका ६० प्रतिशत चोरीका घटनामा संगठित समूहको संलग्नता देखिन्छ। ४० प्रतिशत घटनामा टापटिपे चोर संलग्न रहेको उनीहरु बताउँछन्। महाशाखा अधिकारीका अनुसार अधिकांश चोरी दिउँसोको समयमा हुने गरेका छन्। दिउँसो घरमा कोही नबस्ने, ताल्चा लगाएका घरलाई चोरीका गिरोहले टार्गेट बनाउने डिएसपी मैनालीले बताए।

प्रकाशित: १७ फाल्गुन २०६९ २१:१४ बिहीबार