समाज

जहाँ जसलाई पहिलो शिक्षिका भनिन्छ

सल्यान, रुकुममा पहिलो शिक्षिका निमा रेग्मी। तस्बिरः नागरिक

आजभन्दा ४२ वर्ष अगाडि महिलाले शिक्षा पाउन ‘आकासको फल आँखा तरि मर’ जस्तै थियो। विद्यालय देख्न पाउथ्ये तर, विद्यालयमा गएर पढ्न मुस्किल थियो। त्यसमा शिक्षिका बन्न त परको कुरा। पढ्न पाउने कल्पनाभन्दा बाहिरको कुरा थियो। त्यही कल्पनाभन्दा बाहिरको कुरालाई चुनौती दिँदै सल्यान छत्रेश्वरी गाउँपालिका–७ शंखमूलकी निमा रेग्मी (७४) पढ्न थालिन्। उनीले पढिनन् मात्र महिलालाई आफू जस्तै शिक्षित बनाउन आफू शिक्षिका बनिन्। जसलाई सल्यान, रुकुममा पहिलो शिक्षिका भनिन्छ।

पाकिस्तान जन्म र भारतमा बसोबास गर्ने उनी नेपाली शिक्षिका हुँदा उनको रोचक कथा बन्यो। नेपालमा महिलालाई पढाउने नगरे पनि भारतमा उनले राम्रोसँग शिक्षा पाइन्। बुवा पनि भारतीय सेना थिए। भारतमै अध्ययन गर्ने उनी सल्यानी डिल्लीराज रेग्मीसँग भेट भयो। त्यहाँ उनीहरू प्रेममा बाँधिए। डिल्लीराज निमाको हात माग्न घरसम्म पुगे। डिल्लीराज पढेकाले निमाका बुवाले पनि सहर्ष स्वीकार गरे। २०३४ सालमा स्नाकोत्तर अध्ययन पूरा गरेर उनीहरू नेपाल फर्किए। पढेकालाई शिक्षकको जागिर पाउन त्यति गाह्रो थिएन। गाउँमा प्रायः कमै पढ्ने हुँदा उनलाई छिमेकी जिल्ला रुकुमबाट शिक्षिका बन्न आग्रह आयो। उनले उक्त प्रस्ताव स्वीकार गरे। अनि श्रीमती निमालाई पनि त्यहाँ शिक्षिका बनाए। पढेकाले उनलाई शिक्षिका बन्न गाह्रो भएन।

निमा भारतीय भाषा हिन्दी बोल्ने। नेपाली भाषामा पढाउनु पर्ने। उनले भारतका निजी विद्यालयहरूमा पढाएको अनुभव भए पनि नेपाली  भाषामा पढाउँदा ठूलो मेहनत गर्नु पर्‍यो। ‘कहिले कसो नेपालीमा पढाउँदा पढाउँदै हिन्दी मिसाउँदो रहेछु,’ उनले भनिन्, ‘पछि पछि त सजिलो भयो।’ अहिले उनी स्पष्टसँग नेपाली भाषा बोल्छिन्। उनी शिक्षिका हुँदा अरु महिलाको प्रेरणाको स्रोत पनि बनिन्। उनको जीवनबाट सिकेर कतिपय महिला विद्यालय जान थाले। जागिर खानुपर्छ भन्ने मानसिकता पलायो। उनी सम्झन्छिन्, ‘अहिले मैले पढाएका महिला विभिन्न क्षेत्रमा काम गर्नु हुन्छ। कतिपय जागिर नखाए पनि शिक्षित हुनु भएको छ।’ आफूमा भएको ज्ञान सबैलाई बाढ्दा उनी सुखी छिन्। ‘महिला घर व्यवहारमा मात्र सीमित हुनु हुँदैन,’ उनले भनिन्, ‘अब शिक्षित हुन जरुरी छ।’ कर्णालीका कतिपय विकट क्षेत्रमा अहिले पनि महिलाहरु शिक्षाबाट वञ्चित हुनु परेको छ।

३० वर्ष शिक्षण पेसाबाट उनी २०६४ सालमा रिटायर भइन्। उनको कामको कदर गर्दै विद्यालयले उनलाई प्रधानाध्यापकसम्मको जिम्मेवारी दिएको थियो। सेवाबाट अवकासपछि पनि उनी शिक्षा क्षेत्रमै क्रियाशील छिन्। घर नजिकैको विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनिन्। विभिन्न समयमा क को अक्षरसमेत नचिन्ने महिलालाई प्रौढ शिक्षा पढाइन्। उमेर ढल्कदै गए पनि उनी आयमूलकभन्दा पनि समाज परिवर्तनका लागि सामाजिक क्षेत्रमै काम गर्छिन्।

‘नेपालमा भएको भए त पढ्न गाह्रो हुन्थ्यो,’ डिल्लीराज भन्छन्, ‘भारतमा भएकाले उन (निमा) ले पढ्ने अवसर पाइन्। पछि नेपाल फर्किंदा जागिर पाउन सजिलो भयो,’ उनले भने। अहिले कर्णाली महिलाले पढ्न हुन्न भन्ने चेतनाबाट माथि उठेको छ। महिला पनि पुरुषजस्तै सरकारी तथा निजी विद्यालयमा पढ्न थालेका छन्। २०३४ सालबाट शिक्षाको ज्योति छर्ने निमालाई राज्यले उचित सम्मान गर्न सकेको छैन। जीवनकाल शिक्षा क्षेत्रमै बिताउन चाहने निमालाई राज्यले भुल्नु उनले फैलाएको शिक्षाको ज्योतिको योगदान नहुनु भएको स्थानीयको भनाइ छ।

प्रकाशित: ९ मंसिर २०७७ ११:०७ मंगलबार