समाज

आगलागी पीडितलाई आर्थिक सहयोग

अग्नी पीडित परिवारलाई राहत प्रदान गर्दै जन्तेढुंगा गाउँपालिकाकी उपाध्यक्ष बिमला राई । तस्बिर : नागरिक

खोटाङ प्राकृतिक सहयोग कोषले आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ। गत कात्तिक २१ गते राती भएको आगलागीमा करिब १० लाख बराबरको धन सम्पति गुमाएका जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका बिश्वराम मगरलाई कोषले राहत स्वरुप १० हजार रुपैयाँ सहयोग गरेको हो। अग्नी पीडित परिवारलाई जन्तेढुंगा गाउँपालिकाकी उपाध्यक्ष बिमला राई र युवा नेता जगत किरातीमार्फत राहत सहयोग प्रदान गरिएको खोटाङ प्राकृतिक सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए।  

रातको २ बजे गोठबाट सल्किएको आगोले मगरको घरसहित एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाइते भएका थिए। आगोमा जलेका भैंसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको थियो। घर जलेपछि मगरका ९ जनाको परिवार हाल अर्को फगतपुरमा रहेको आफ्नै घरमा बसिरहेका छन्। प्राकृतिक विपत्तीमा राहत प्रदान गर्दै आएको खोटाङ प्राकृतिक सहयोग कोषले चालु आर्थिक वर्ष १२ परिवारलाई राहत प्रदान गरिसकेको जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०७७ १३:०३ बुधबार