बडादसैंमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन। कोरोना सङ्क्रमणका कारणले सामूहिक भेला र भीडभाड रोकिएकाले नाच रोकिएका हुन्।
थारु समुदायमा नवमी धुमधाम मनाइन्छ। सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ। थारु समुदायमा दसैं आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुमरा नाच नाच्ने गरिन्थ्यो तर यसपालि कोभिड –१९ का कारण कुनै पनि नाच हुन सकेनन्। झुमरा नाच र दसैं विशेष विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएन, गाउँघर सुनसान छ।
नवमीको दिन बिहानै कुल देवतालाई भेरवा (कुपिण्डोबाट बनाएको भेंडा) र भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड) दिने चलन छ। त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन्।
नवमीका दिन थारु युवकयुवती रातभर सखिया र झुमरा नाच नाच्ने गर्छन्। घोराही १७ कर्जाहीका पूर्ण चौधरी भन्छन्,,“परम्परागत चाड दसैंमा अरु समुदायभन्दा थारु समुदायको फरक हुन्थ्यो। यो नाचले ददसैंको रौनकलाई अझ बढाउँथ्यो।”
प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ। रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दसैंको गरिमालाई समेत बढाएको हुन्छ। घोराही उपमहानगरपालिका–१० का थारु अगुवा धनीराम चौधरी भन्छन्, “यसपालिको दसैंमा कोभिड –१९ को महामारीका कारण पूरै गाउँ नै सुनसान छ। घटस्थापनाका दिनदेखि थारु बस्तीमा झनै रमाइलो हुन्थ्यो। थारु बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो हुन्थ्यो।” उनीहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन्।
थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि विशेषगरी नाचसँगै दसैंमा गाउने गरिन्छ। सखिया नाच्नका लागि १५–२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन्। युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ। सखिया नाच मादलको तालसंँगै तीन खण्डमा नाच्ने गरिन्छ। यसपालिको दसैं मा दाङका थारु बस्तीमा मादल पनि बजेनन्, नाचगान पनि भएन र गाउँघर सुनसान भएको छ।
चार वर्षदेखि सखिया नाच नाच्दै आएका घोराही–४ गोग्लीकी अनिता चौधरी यसपालि नाच्न नपाउँदा खिन्न छन्। उनले भने, “कोरोनाका कारण यसपालि घरमै बस्ने निर्णय गर्यौँ, अर्को साल सबै साथीहरु जम्मा भएर नाच्ने, रमाइलो गर्ने छौँ।” रासस
प्रकाशित: ८ कार्तिक २०७७ १३:१२ शनिबार