अत्यधिक चिसोका कारण घरमै बेहोस भएका सरदारलाई उपचारका लागि राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा अस्पतालको मुख्य ढोकामै मृत्यु भएको थियो ।
यसअघि मृत्यु हुनेहरुमा सप्तरीको बभनगामाकट्टी गाविस-५ का ६० वर्षीय परमेश्वर साह तेली, मधेपुरा-८ का ५५ वर्षीय फुलिया देवि, बभनगामाकट्टी ६ का ४५ वर्षीय हननुमानी साफि र दौलतपुर ८ का ४६ वर्षीय झल्लु राम रहेको प्रहरीले जनाएको छ।
यता अत्यधिक चिसोका कारण बालबालिका तथा वृद्धवृद्धाहरु धमाधम विरामी समेत पर्न थालेका छन्। सगरमाथा अञ्चल अस्पतालका अनुसार चिसोका कारण विरामी भएर दैनिक ३० देखि ३५ विरामीहरु अस्पतालमा भर्ना हुने गरेका छन्। जसमध्यै अधिकांश बालबालिका छन्। अस्पतालका वरिष्ठ अहेब लालकिशोर सिंहका अनुसार दैनिक २५ जना सम्म बालबालिकाहरु मात्रै विरामी भएर अस्पताल आउने गरेका छन्। अस्पताल भर्ना भएका बालबालिका र वृद्धवृद्धाहरुमा कोल्ड डाइरिया, निमोनिया, कोल्ड ज्वरो, टाइफाइड, टान्सिल लगायत रोगका लक्षणहरु देखापरेको उनको भनाइ छ।
अञ्चल अस्पताल बाहेक सदरमुकाम राजविराज बाहेक जिल्लाको कञ्चनपुर, हनुमान नगर, कल्याणपुर, भारदह, तोपास्थितका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा निजी अस्पतालहरुमा समेत ठण्डीले सिकिस्त भइ उपचार गराउन आउनेहरुको संख्यामा वृद्धि भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
पछिल्लो दुई साता देखि शितलहरसँगै बढदै गएको चिसोका कारण सप्तरीको समग्र जनजीवन कष्टकर बन्दै गएको हो। खासगरी जिल्लाको पूर्वी तथा पश्चिमी ग्रामिण भेगका सर्वसाधारणहरुको जनजिवन चिसोका कारण अत्यधिक प्रभावित भएको छ। जिल्लाको पूर्वी भेगमा कोसी, त्रियुगा सहितका नदी छेउका बस्ती तथा पश्चिमी भेगमा रहेको बलान नदी छेउका बस्तिहरु दिनभर जसो बाक्लो हुस्सुले ढाकिएको हुन्छ।
यता शितलहरसँगै बढ्दै गएको चिसोले जनजीवन कष्टकार पार्दा समेत सम्वन्धित निकायको ध्यान भने यस तर्फ पुग्न सकेको छैन।
खासगरी जिल्ला प्रकोप व्यवस्थापन समिति, रेडक्रस, स्थानीय प्रशासन सहितका निकायले शितलहरवाट जोगाउन कुनै पहल नथालेको सर्वसाधारणको गुनासो छ। गरिब तथा विपन्न वर्गका लागि कम्बल सहितका न्यालो लुगा उपलब्ध गराउँदै आएका रेडक्रसले हालसम्म केन्द्रलाई पत्राचार समेत गर्न सकेको छैन। नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष योजेन्द्र भगतले आगामी साता हुने बैठक पश्चात कम्बल माग गरिने जानकारी गराए।
गतवर्ष सप्तरीमा पुसको तेश्रो सातादेखि शितलहर बढेको थियो चिसोका कारण गतवर्ष सप्तरीमा करिब चार दर्जन भन्दा बढी मानिसको मृत्यु भएको थियो।
प्रकाशित: १२ पुस २०६९ ०३:४५ बिहीबार