कोरोना संक्रमितको उपचारका लागि सरकारले देशभरका ६ सय ४९ स्थानीय तहमा मेडिकल अधिकृतसहित ५ बेडको कोरोना अस्थायी अस्पताल बनाउने निर्णय गरेसँगै दोलखाका स्थानीय तहमा अस्थायी अस्पताल बनाउन जुटेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ २१ गतेको निर्णय अनुसार देशभरका ७ सय ५३ स्थानीय तह मध्ये सरकारी अस्पताल नरहेका देशका ६ सय ४९ स्थानीय तहमा ५ बेडको कोरोना अस्थायी अस्पताल निर्माण गर्न १० लाख रुपैंया निकासा दिने निर्णय गरेको थियो।
मन्त्रालयले हरेक स्थानीय तहमा कम्तीमा ५ बेडको कोरोना अस्थायी अस्पताल बनाउन र जनशक्तिसहित कोरोना रोकथामका लागि चाहिने औषधि र बेड खरिद गर्नु भन्दै तत्कालका लागि १० लाख रुपैंया रकम निकासा दिने निर्णय भएको थियो। उक्त रकम मध्ये ४ लाख ५० हजार रुपैंया एक मेडिकल अफिसरसहित २ स्टाफ नर्स र एक कार्यालय सहयोगी गरेर ४ जना जनशक्ती, ५० हजार रुपैंयाँ औषधि र ५ लाख रुपैंयाँको बेडसहितका समाग्री किन्न्न गरी निर्देशिका पठाईएको थियो।
मन्त्रालयको परिपत्र पछि दोलखामा अस्पताल खोल्ने निर्णय भएका ९ मध्ये ८ वटा स्थानीय तहले धमाधम कोरोना अस्थायी अस्पताल बनाउने तयारी गरेका छन्। सरकारको जिल्ला अस्पताल रहेको जिरी नगरपालिका बाहेक दोलखाका ८ ओटा स्थानिय तह कोरोना अस्थायी अस्पताल बन्ने सूचीमा परेका थिए।
तामाकोसी गाउँपालिकाले कार्यपालिका बैठक मार्फत गाउँपालिकाको वडा नं ४ मालुमा कोरोना अस्थायी अस्पताल बनाउने निर्णय गरेको छ। पालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका अनुसार मालुको स्वास्थ्यचौकीका लागि बनाईएको नयाँ भवनमा ५ बेडको अस्थायी अस्पताल निर्माण हुदैछ। स्वास्थ्य चौकी यस अघि आफ्नै पुरानो भवनमा सञ्चालन भईरहेकाले नयाँ भवनमा तत्कालका लागि अस्पताल बनाउन लागिएको पोखरेलले बताए। यस्तै कोरोनाका संक्रमित राख्न मालुमै ५ बेडको अआईसोलेसन समेत बनाउन लागिएको उनले सुनाए।
गौरीशंकर गाउँपालिकाले अस्थायी अस्पताल बनाउन वडा नं ५ स्थित सुरीको हलेश्वर माविको पुरानो भवन उपयोग गर्ने भएको छ। अस्पताल सञ्चालन गर्न दुई जना स्टाफ नर्स करारमा भर्ना गर्न सुचना निकालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रेग्मीले बताए। डाक्टर भने गाउँपालिकामै रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरतलाई उपयोग गर्ने तयारी गाउँपालिकाले लिएको छ। जनशक्ती स्थानीय स्तरमै उपयोग गर्न सकिए उक्त रकम अस्पतालका लागि औजार, उपकरण तथा अन्य शिर्षकमा खरिद गर्न सकिने अधिकार निर्देशिकामा स्थानीय तहलाई नै दिइएको छ।
भीमेश्वर नगरपालिकाले अहिले भईरहेको प्रस्तावित चरिकोट अस्पताल क्षेत्रभित्रै कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। नगर प्रमुख भरत केसीले अस्पताल भित्र सबै उपकरण र सुविधा रहेको र यस अघि समेत सदरमुकाममा रहेको उक्त अस्पतालका जनशक्ति नै सिंगै जिल्लाका संक्रमितको उपचार गर्ने जिम्मा सम्हालेकोले सरकारबाट आएको उक्त बजेट कार्यविधि भत्र रहेर यही अस्पताल भित्रै कार्यान्वयन गराउने तयारी भएको सुनाए।
शैलुङ गाउँपालिकामा अस्पताल सञ्चालनका लागि परिपत्र आएपनि छलफल भईरहेको पालिका अध्यक्ष भरत दुलालले बताए। ‘हामी काहाँ यस अघि नै २० बेडको अस्पताल सञ्चालनका लागी २ करोड रुपैंया निकासा आएको छ, त्यसबाट समेत पूर्वाधार बनाउनु पर्नेछ’, उनले भने, ‘अब ५ बेडको यो अस्थायी अस्पताल काहाँ राख्ने छलफल गर्छौ’।
कालिञ्चोक गाउँपालिकामा अस्थायी अस्पतालमा राख्ने भन्ने बारेमा निर्णय गर्न सकिएको छैन्। विवादका कारण हाल सम्म गाउँ सभा समेत बस्न नसकेको यो गाउँपालिकामा अस्थायी अस्पतालमा खोल्ने भन्ने बिषयमा कार्यपालिका बैठकबाट निर्णय हुनुपर्ने भएपनि बैठक बस्न नसकिएको गुनासो प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले गरे। ‘यो बिषय गाउँ कार्यपालिकाको बैठकले टुङग्याउने बिषय हो’ उनले भने – ‘तर बैठक बस्न नसकिएका कारण यही ठाउँमा सञ्चालन गर्न ससकिन्छ भनेर मैले भन्न सक्ने अवस्था नै छैन’। गाउँपालिकाको सिंगटी बजारमा चिकित्सक सहितको प्रथामिक स्वास्थ्य केन्द्र सञ्चालनामा छ।
मेलुङ गाउँपालिकाले भेड्पुमा खोल्ने तयारी गरेको छ। अध्यक्ष नरबहादुर श्रेष्ठले सर्वपक्षिय छलफल गरेर सबैलाई पायक पर्ने गरी कोरोना अस्थायी अस्पताल खोलिने सुनाए। विगु र वैत्येश्वरमा समेत अस्पताल काहाँ सञ्चचालन गर्ने भनेर निर्णय भईसकेको छैन्।
तामाकोसी गाउँपालिकाका प्रमुख पोखरेलले अहिले सञ्चालन गर्न लागिएको अस्थायी कोरोना अस्पताललाई निरन्तरता दिएर पछि स्थायी अस्पतालमा रुपान्तरण गर्नुपर्ने सुझाए। ‘अहिले ३ महिनाका लागी चल्ने गरी १० लाख रुपैंया विनियोजन भएर आएको रहेछ’ उनले भने – ‘अब यि अस्पतालहरुलाई कोरोना सकिएपछि बिस्तारै स्थायी अस्पताल बनाउने र बेड संख्या थप गर्ने योजना सरकारले बनाएको देखिन्छ, यसो गर्न सकियो भने कोरोनाको माहामारीलाई स्वास्थ्य क्षेत्रको विकास गर्न उपयोग गर्र्न गरी यो मुलुकको स्वास्थ्य क्षेत्रमा नयाँ फड्को हुनेछ’।
प्रकाशित: २९ भाद्र २०७७ १३:१० सोमबार