कोरोना भाइरस संक्रमण बढी नफैलियोस भनेर सरकारले २५ जना भन्दा बढी व्यक्ति एकैठाउँमा एकैपटक भेला नहुन भनिएको छ। सूचनालाई आधार मान्दै जिल्लास्थित प्रशासन कार्यालयले मानिसलाई भेला हुन, भीडभाड, सभा, जात्रा, महोत्सव, तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रम तथा क्रियाकलाप आयोजना नगर्न पनि बारम्बार अनुरोध गर्दै आएको छ।
तर, प्रशासनको यो आदेशलाई कतिसम्म वेवास्ता गरिन्छ भन्ने शुक्रबार पोखराको एक घटनाले पुष्टि गरेको छ। यहाँस्थित फिस्टेल अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आयो, तर, उनको रिपोर्ट नआउँदै अस्पतालले परिवारलाई शव हस्तान्तरण गरेपछि शुक्रबार नै अन्तिम संस्कार पनि गरिएको छ। मालेपाटनकी ती महिलाको अन्त्येष्टिमा झन्डै दुईसयजना व्यक्ति (मलामी) सहभागी भएका थिए। शनिबार बिहान मात्र ती मृतक महिलाको रिपोर्ट बाहिरिएपछि बल्ल अन्त्येष्टिमा सहभागी थिए।
सरकारले बारम्बार भीडभाड नगर्नु भनेर अनुरोध गर्दा पनि राजनीनिक नेतादेखि पर्यटन व्यवसायीको ठुलो समुह अटेर गर्दै त्यो अन्त्येष्टिमा सहभागि थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल भन्छन, ‘जान्ने बुझ्ने समुहबाट नै अटेर भएको स्पष्ट देखियो। तल्लो तहका नागरिकलाई भन्दा जानेबुझेका व्यक्तिबाटै अटेर हुने गरेको छ,’ ढकालले भने, ‘हामीले बारम्बार सुचना निकालेर भीडभाड नगरौ भनेका छौ। तर, यहाँ जान्नेबुझ्ने ले नै अटेर गरेको पाईयो।’ २५ जना भन्दा बढी भेला नहुन भन्दा अटेर गरेर दुईसय हाराहारीमा मलामी जानु निकै नै ठुलो हेलचेक्रयाँइ भएको उनले बताए।
‘भावनात्मक कुरा यस्तो बेला देखाउनु हुँदैनथ्यो,’ उनले भने, ‘कुनै न कुनै माध्यमबाट भावनात्मक सम्बन्ध देखाउन सकिन्छ। अहिले भीडभाड गरेर राम्रो हुँदैन।’ उनका अनुसार महिलाको स्वाव संकलन गरेर परीक्षणका लागि पठाएको र रिपोर्ट आउनु अघि नै मृत्यु भएपछि अस्पतालले परिवारलाई शव जिम्मा लगाएर अन्त्येष्टि गरिएको बारे छानबिन हुनेछ। अस्पतालको पनि कमजोरी देखिएको उनले बताए।
मृतकका एकजना नजिकका आफन्तका अनुसार अन्त्येष्टिमा करिब दुईसय जना मलामी सहभागि थिए। मृतक महिला पर्यटन व्यवसायमा संलग्न रहेको र सामाजिक काममा पनि सक्रिय भएकोले अन्त्येष्टिमा बढी सहभागिता भएको ती आफन्तले बताए। सामाजिक सञ्जालमा लेखेर नै शवयात्रामा सहभागि हुन समेत केही व्यवसायीले आव्हान समेत गरेका थिए। मृतक महिलाको बसोबास पोखराको मालेपाटनमा थियो। उनको पुर्खाैली घर माछापुच्छ«े– ३ मा हो। मालेपाटनको टोलका आमा समुहका सदस्य देखि गाउँले पनि अन्त्येष्टिमा सहभागि भएको उनले बताए।
‘गाडी नचलेका बेलामा पनि मान्छे हिडेरै गाउँदेखि घाटसम्म आए। दुईसय हाराहारीमा मलाम सहभागि भए,’ उनले भने,‘हामीले कसैलाई आउँ भनेर बोलाएका होईनौ। तर, आज रिपोर्ट आएपछि सबैका लागि टाउको दुखाई बनेको छ।’ घाटसम्म पुगेका ती मलामीलाई रोक्ने काम कतै नभएको उनले बताए।
‘अस्पतालमा मृत्यु भएपछि सहजै दाहसंस्कारमा ल्याएकोले अरु कुरा सोचिएन। तर, त्यो भीडभाडमा सहभागि हुन सबैको गलत थियो,’ उनले भने, ‘मानवीयताबाट अछुतो हुन नसक्दा सहभागी भइयो।’ पोखराको त्यो दाहसंस्कारमा सहभागी भएपछि पहारी कास्कीकै नयाँपुलमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका थिए। त्यो कार्यक्रममा करिब ८०÷९० जना सहभागि भएको उनले बताए। मृतकका पतिलाई प्रत्यक्ष भेटेकोले अरुलाई सचेत हुन भनेको उनले बताए। ‘शनिबार बिहान मात्र मृतकको रिपोर्ट पोजेटिभ आएको थाहा पाए। त्यसपछि मेरो सम्पर्कमा आएका सबैलाई सतर्क हुन भनेको छु,’ उनले भने, ‘यस्तो भीडभाडबारे अब सचेत हुनैपर्छ। जो कोही पनि सचेत हुन जरुरी छ।’
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले २ सय जना मलामीको जमघटले ७५० जनालाई समेट्ने बताउँछन्। ‘ती सबै मलामी एकैघरका थिएनन। कम्तिमा १५० घरमा बासिन्दा त्यहाँ पुगेका थिए,’ शर्माले भने, ‘केही मलामीमा संक्रमण पुष्टि भयो भने ७५० जनाको परीक्षण गर्नपर्छ,’ उनले भने,‘ जानेबुझेका व्यक्तिकै बढ्दो सहभगिता राम्रो होईन।’
७ सय ५० जनाको स्याम्पल परीक्षण गर्नुपर्ने अवस्था आउँदा त्यो कल्पना भन्दा बाहिरको कुरा हुनजाने उनले बताए। ‘सांस्कृतिक हिसाबले सहभागिता भयो, तर, त्यो गलत थियो,’ उनले भने। यस्तो हेलचेक्रयाँइ गर्दा स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिने उनले बताए। लकडाउन खुकुलो भएपनि यो बेला भीडभाड गर्नु जोखिम छ भन्ने थाहा भएर पनि व्यवहार अरु संयमित हुन नसकेको उनले बताए।
उनका अनुसार प्राविधिक गल्ती अस्पतालले गरेको छ।
अस्पतालले त्यो स्याम्पल संकलन गरेर परीक्षणमा पठाएको भनेर जानकारी दिएको भए अरुलाई रोकेर भएपनि परीक्षण गर्ने अवस्था आउने उनले बताए। ‘हेलिकप्टरमा पठाउनुपर्ने बिरामी, शव, आईसीयुको बिरामीका लागि हामीले परीक्षणमा पहिलो प्राथमिकता दिन्थ्यौ। तर, हामीलाई मृतकको जिवित छँदै नमुना पठाएको थाहा भएन। तर, रिपोर्ट नआउँदै आफन्तलाई शब दिइयो,’ उनले भने।
प्रकाशित: २७ भाद्र २०७७ ११:२७ शनिबार