समाज

बुटवल धागो कारखाना लिजमा चलाउन दिने तयारी

शेरबहादुर केसी, बुटवल, असोज ३० - पाँच वर्षदेखि बन्द बुटवल धागो कारखाना सञ्चालन गर्न पहल थालिएको छ। मन्त्रिपरिषदको अघिल्लो बिहीबारको बैठकले बुटवल धागो कारखाना लिजमा सञ्चालन गर्न दिने सैद्धान्तिक निर्णय गरेपछि सञ्चालनको बाटो खुलेको हो।  

‘सरकारको निर्णयपछि विभिन्न स्थानीय र विदेशी समूहले सञ्चालनका लागि रुचि देखाएका छन्,'धागो कारखानाका अध्यक्ष ध्रुव रिजालले भने। उनले दशैँ लगत्तै लिजमा दिनका लागि टेण्डर सूचना निकालिने बताए।

सञ्चालन अनुभव र व्यवसायिक योजनाका आधारमा धागो कारखानाको व्यवस्थापन लिजमा दिने सरकारको नीति रहेको उनले बताए।

उपदान, क्षतिपूर्ति र बिमाबापतको ४७ करोड ४५ लाख रुपैंयाँ उपलब्ध गराएर सरकारले बुटवल धागो कारखानामा कार्यरत मजदुर कर्मचारीलाई दुई वर्ष अघि बिदाई गरिसकेको छ।

बन्द भएको कारखाना सञ्चालन गर्दा सकारात्मक सन्देश जाने र कम्तिमा पाँच सय मजदुर कर्मचारीले रोजगारी पाउने भएकोले सरकारले लिजमा सञ्चालन गर्न दिने सैद्धान्तिक सहमति दिएर अन्य प्रक्रिया अघि बढाउन कारखाना सञ्चालक समितिलाई निर्देशन दिएको रिजालले बताए।

कारखानाको कमाईले मजदुर- कर्मचारीलाई तलवभत्ता र अन्य आन्तरिक खर्च व्यवस्थापन गर्न नसक्दा पटक-पटक बन्द हुँदै चल्दै आएको कारखाना पछिल्लो पल्ट २०६४ साल माघ महिनामा बन्द भएको थियो। कारखानामा कार्यरत ४ सय २ मजदुर कर्मचारीलाई पे-अफ दिएर बिदा गर्न श्रम कार्यालयले स्वीकृति दिएपछि २०६५ साल असोज १ गतेदेखि अवकाश दिइएको थियो।


उत्पादन बन्द भएपछि मजदुरले पटक-पटक कारखाना चलाउन माग गर्दै उद्योग मन्त्रालयमा डेलिगेशन जाँदा तत्कालीन उद्योगमन्त्री र मन्त्रालयका उच्च अधिकारीले उद्योग यथावस्थामा चलाउन नसकिने भन्दै बाँकी बक्यौता तलब भुक्तानी गरेर मजदुरलाई बिदाई गर्ने र नयाँ विकल्प ल्याएर कारखाना सञ्चालन गर्ने स्पष्ट धारणा अघि सारेपछि मजदुर- कर्मचारीले कारखाना सञ्चालनका लागि आन्दोलन र डेलिगेशन रोकेका थिए।

विस. २०४८ सालमा स्थापना भएको धागो कारखानाले शुरुका वर्षमा दैनिक तीन सिफ्ट सञ्चालन भएर १० टन धागो उत्पादन गरेको थियो। पटक-पटक बन्द हुँदै चल्दै आएको कारखाना पछिल्लो पल्ट एक सिफ्ट पनि नियमित चलेको थिएन्।

 

प्रकाशित: ३० आश्विन २०६९ ०१:०३ मंगलबार