विराटनगरलाई मुख्य थलो बनाएर विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार आयोजित पत्रकारमा विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोपमा पाँच जनालाई हतियारसहित पक्राउ गरेको जानकारी दिएको छ।
‘पक्राउ परेकोहरूले विराटनगरलाई मुख्य थलो बनाएर आपराधिक कार्यमा संलग्न भएको पाइएको छ,’ मोरङका प्रहरी प्रमुख एसपी सन्तोषकुमार खड्काले भने, ‘यिनीहरू संगठित रूपमा समूह बनाएर व्यापारी, व्यवसायीहरूलाई हतियार देखाएर रकम असुल्ने गरेको पाइएको छ। कुनै व्यापारीले रकम नदिए ज्यानमार्नेसम्मको धम्की दिँदै असुली गर्ने र विराटनगर एरियामा चोरी र लुटपाटमा सक्रिय रहेको भेटियो।’
एक भारतीयसहित मोरङको कटहरी र विराटनगरका पाँच जनाले समूह बनाएर हतियार देखाउँदै व्यापारीबाट रकम असुल्ने गरेको सूचना पाएपछि उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।
एक भारतीय नागरिकसहित पाँच जना रहेका छन्। भारत विहारको सीतामडी घर भई विराटनगर–८ मा डेरा बस्दै आएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरीको बोदेवर्साइन–८ घर भई विराटनगर–३ मा डेरा बस्ने २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साहलाई मंगलबार प्रहरीले पक्राउ परेको जनाएको छ।
किसनलाई विराटनगर–८ देवकोटा चोक, रविनलाई आफ्नै घर, नन्दकिशोर र अभिषेकलाई कञ्चनबारीस्थित नन्दकिशोरको डेराबाट पक्राउ परेका छन् भने विराटनगरको जलजला चोकस्थित चाइना बजारमा काम गर्दै आएका भारतीय नागरिक राजुलाई विराटनगर–८ को रेन्बो गल्लीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
एलेक्स भन्ने रविनको घरबाट एउटा पेस्तोल र तीन राउण्ड गोली र नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार १ सय २० रुपैयाँमध्ये ४९ हजार ४ सय ५० भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट विभिन्न कम्पनीका १६ थान मोबाइल, कोटाक महिन्द्र नामको भारतीय बैंकको चेक, को ३२ प ७५२५, को १५ प २३१५ र को ३६ प २७६२ नम्बरको मोटरसाइकल तथा एउटा चक्कुसमेत बरामद गरेको एपी खड्काले बताए।
यो समूहले गत असार २५ गते विराटनगरका एक जना व्यापारीसँग १० लाख रुपैयाँ पटक–पटक धम्क्याउँदै मागेकोमध्ये पाँच लाख रुपैयाँ असार २६ गते व्यापारीले दिएपछि पनि पुनः धम्क्याउँदै रकम माग गरेको खुलेको छ। त्यस्तै साउन १३ गते अर्का व्यापारीलाई फोन गरेर १० लाख रुपैयाँ मागे थिए। उक्त गिरोहले दुवै जना व्यापारीलाई धम्क्याउन र पैसा असुल्नका लागि ९८४०४१८२३० नम्बरको एउटै सिम प्रयोग गरेको एसपी खड्काले बताए।
भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ चोरी भएको घटनामा पनि पक्राउ परेका पाँचै जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यो समूहले चोरी र असुली गरेको रकम बैंकमा जम्मा गर्ने गरेको पाइएको छ।
पक्राउ परेका पाँच जनाविरुद्ध प्रहरीले हातहतियार खरखजना, अपराधिक लाभ र चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन बुधबार म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: १७ भाद्र २०७७ ०९:१० बुधबार