रौतहटको माधव नारायण नगरपालिका–२ खेसरहियामा गत भदौ ४ मा भएको पुजारी हत्याकाण्डको अनुसन्धान जिंगडिया हत्याकाण्डले प्रभावित भएको देखिएको छ। गत साउन ३१ गते राति गरुडा ८ जिंगडियामा घाँटी रेटेर स्थानीय निरन्जन रामको हत्या भएपछि निरन्तर परिस्थिति बदलिरहेकोले खेसरहियामा अवस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या अनुसन्धान प्रभावित भएको देखिएको हो।
प्रहरी तथा प्रशासन र अनुसन्धानमा लाग्नु पर्ने सबैको ध्यान गरुडामा भएको हत्या र त्यसपछि प्रहरी हिरासतमा अर्का युवकको मृत्यु भएपछि दलितहरुले दिनहु प्रदर्शन गरिरहेका छन्। दलितको प्रदर्शनको कारण सबै अनुसन्धानकर्ताको ध्यान दलित हत्याकान्डतर्फ केन्द्रित भएकोले पुजारी हत्याकान्ड प्रभावित भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।
पुजारी साहको हत्या भएपछि प्रहरीले करिब २० जनालाई सोधपुछ गरिसकेको छ। हत्याको कारण र हत्याराको सुइँको अनुसन्धानको क्रममा अहिलेसम्म खासै फेला पर्न सकेको छैन। पुजारी हत्याकाण्डमा पनि मुख्य अनुसन्धान अधिकृतको रुपमा रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि ज्ञानकुमार महतो गरुडा ८ जिंगडिया हत्याकाण्डपछि उत्पन्न परिस्थितिका कारण इलाका प्रहरी कार्यालयबाट प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएपछि अनुसन्धान झन् प्रभावित हुन पुगेको हो।
डिएसपी महतोले पुजारी हत्याकाण्डको धेरै अनुसन्धान गरिसकेको अवस्थामा अन्य अनुसन्धानकर्ताले फेरि सुरुदेखि नै सबै कुरा बुझ्नु पर्ने हुँदा अनुसन्धानमा झन् ढिलाई हुने सम्भावना बढेको छ। पुजारी हत्याकाण्डमा प्रहरीले अनुसन्धान गर्न नसकेपछि आलोचना पनि हुन थालेको छ। हत्या भएको एक हप्ता हुँदा पनि प्रहरीले हत्याराको बारेमा प्रमाण फेला पार्न नसक्नु रौतहट प्रहरीमाथि नै प्रश्न उठेको छ।
गरुडामा हत्या भएको केहिदिनमा पुजारीको पनि हत्या भएको थियो। हत्याको प्रकृति फरक रहेको भए पनि दुवै हत्याकान्ड इलाका प्रहरी कार्यालय गरुडाको कार्यक्षेत्रभित्र पर्दछन्। इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी प्रमुखको रुपमा डिएसपि महतो भएको बखत केहि दिनको अन्तरालमा दुवै हत्याकाण्ड भएको थियो।
पुजारी हत्याकाण्डमा स्थानीय सरकारको सहयोग अपेक्षित रहे पनि जननिर्वाचित प्रतिनिधि नै फरार भएपछि अनुसन्धानमा थप अन्यौल हुन पुगेको हो। पुजारी हत्या भएको भोलिपल्टदेखि वडाध्यक्ष र अर्का एक जना वडा सदस्य पनि फरार छन्। यसै गरी गाउँका अन्य आठ जना फरार रहेका छन्। निर्वाचित जनप्रतिनिधिहरुसमेत गाउँका केही मानिस फरार भएपछि एकातिर हत्याको अनुसन्धानमा अवरोध पुगेको छ भने अर्कोतिर हत्याकान्डको अनुसन्धानको सूई फरारहरुतर्फ सोझिने सम्भावना पनि बढेको छ।
स्थानीयवासीले प्रहरीलाई हत्याकाण्डमा सहयोग बेला जनप्रतिनिसहित अन्य केहि मानिसहरु फरार भएकोले पुजारी हत्यामा कतै तिनीहरु पनि प्रत्यक्ष वा परोक्ष संलग्न त छैनन् ? भन्ने प्रश्न उठाउन थालेका छन्। पुजारी हत्याकाण्डको अपराधी पत्ता लगाउन नसक्दा हत्याकाण्ड झन् रहस्यमय बन्दै गएको छ।
प्रकाशित: १४ भाद्र २०७७ १२:०३ आइतबार