समाज

ठूलो परिणामको लागुऔषध बरामद

कोरोना भाइरस समुदायमा फैलिन थालेपछि देश नै लकडाउन भएको फाइदा सीमा क्षेत्रमा चोरी, तस्करी र लागुऔषध ओसारपार गर्नेले लिएका छन्। भाइरस फैलिन नदिनका लागि गरिएको लकडाउनलाई कडाइ गर्ने तर्फ प्रहरी प्रशासनको ध्यान जाँदा सीमा क्षेत्रमा तस्करी मौलाएको छ।

लकडाउनको समयमा तस्करले प्रदेश १ को सीमा जोडिएको झापा, मोरङ र सुनसरीबाट अवैधरूपमा खाद्यान्न, मललगायतका वस्तु तस्करी गर्दै आएका छन्। पछिल्लो समय तस्करले खाद्यान्न, मललगायत सुन र लागुऔषध ठूलो परिमाणमा ओसारपसार गर्न थालेका छन्।  

प्रहरीले सीमा क्षेत्रबाट हुने चोरी तस्करी र मानिसहरूको आवतजावतले गर्दा कोरोना भाइरस फैलिएको भन्दै निगरानी बढाउन थालेपछि विभिन्न सामान बरामद गर्न थालेको छ।यसै क्रममा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरले सुनसरीको भण्टाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।  

भारतको भीमनगरबाट लागुऔषध लिएर आउँदै गर्दा ब्युरोको टोलीले कोसी गाउँपालिका–८ का २२ वर्षीय सुशील शर्मालाई शनिबार साँझ पक्राउ गरेको जनाएको छ। भण्टाबारी चोकबाट उत्तर पूर्वपश्चिम राजमार्गमा साइकलमा आउँदै गर्दा शंका लागि चेक गर्दा सुशीलले साइकलमा झुन्ड्याएको नाइलनको झोलाबाट ठूलोपरिणामको लागुऔषध बरामद भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। झोलाबाट लागुऔषध डाइलेक्स डिसी ३३ बोतल, स्पास्मोप्रोक्सिभन पाँच सय २२ क्याप्सुलर नाइट्रोसन एक सय चक्की बरामद भएको प्रहरीले जनाएको छ।  

पक्राउ परेका सुशीलले आफै कारोबारी वा भरिया र कहाँ लगेको भन्न अनुसन्धान थालेको छ। ब्यूरोको टोलीले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ।  

प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाउन थालेपछि शनिबार मोरङको जहदाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। प्रहरीले प्रदेश नं. १–०२–०४० प ९६६८ नम्बरको मोटरसाइकल चेक गर्दा सुनसरी गढी–३ का २७ वर्षीय सुभाषकुमार साह  र पछाडि सवार जहदा–१ का २१ वर्षीय रूपेश यादवलाई लागुऔषध डिलेस डिए १४ बोतलसहित पक्राउ परेका थिए।  

त्यसैगरी साउन २४ गते भारतबाट विराटनगरतर्फ हतियार र लागुऔषध लिएर आउँदै गर्दा सीमा क्षेत्रबाट एक भारतीय नागरिक पक्राउ गरेको थियो। साउन २४ विराटनगरबाट भारततर्फ सुन लिएर जाँदै गर्दा एक नेपाली नागरिकलाई प्रहरीले सुनसहित सीमा क्षेत्रबाट पक्राउ परेका थिए। साउन १३ विराटनगरको बगरगाछीबाट मेथामफेटामिन (आइस) लागुऔषधसहित एक जना पक्राउ परेका थिए। आइस लागुऔषध अन्तर्राष्ट्रिय बजारमा महँगो र कडा प्रकारको हो। प्रहरीले पछिल्लो समय लागुऔषध तीन जिल्लाबाट धमाधम बरामद गर्न थलोको छ।

प्रकाशित: १४ भाद्र २०७७ ०८:२९ आइतबार

लागुऔषध