प्रभावकारी बजार अनुगमन र उपभोक्ता आफैंमा चेतना नहुँदा सरकारले मूल्य तोकेजस्तो सबै ठाउँमा हुन सकेको छैन। घट्टेकुलाको 'सप एट काया' मिनी मार्टमा तीजको सामान किन्न आएकी एक महिलाले भनिन्, ‘खुद्रा पसलमा सामान अलि महंगो छ। मान्छेको अनुहार हेरेर मूल्य तोकिन्छ।'
तर मिनी मार्टमा पाइने सुविधाले उनलाई लोभ्याएको छ। काठमाडौंमा पछिल्लो समय मिनी मार्केट बढ्दो छ। मुख्य बजारमा खोलिने मिनी मार्ट भित्री गल्लीमा समेत फस्टाउन थालेका छन्। दुई वर्षदेखि काया मिनी मार्ट चलाएका सविन भट्टराई भन्छन्, ‘घट्टेकुलो वरिपरि दुई लाख मान्छे होलान् तर राम्रो पसल भने छैन।' यही अवस्था बुझेर उनले मिनीमार्ट खोले। ग्राहकले पनि नौलो अनुभव गरेका छन्। आफूलाई चाहिएको सामान सोधिरहनु नपर्ने। सामान आफैं हेर्न, झिक्न पाइने। हरेक सामानमा मूल्य अंकित। सामानको बिल सिस्टम भएपछि ग्राहकलाई विश्वास हुने नै भयो।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य पनि काठमाडौंमा मिनी मार्ट संख्या तीव्र रूपमा बढ्दै गएको बताउँछन्। यसलाई 'इजी सप' पनि भनिन्छ। यी पसलमा हरेक सामान एकै छानामुनि पाइन्छ। हरेक समानमा मूल्य अंकित गरिएको हुन्छ र आफैं झिक्न पाइन्छ। ग्राहकले सजिलो महसुस गर्छन्।
विदेशमा मिनी मार्ट नै धेरै चल्छन्। त्यही अनुभव नेपालमा पनि भित्रँदै गएको मिनी मार्ट व्यापारी बताउँछन्। बज्राचार्यले सत्र-अठार वर्षदेखि नै मिनी मार्ट चलाउने अभियान थालेको बताउँछन्। विदेशमा घुम्दा देखेको र अनुभवका आधारमा नेपालमा पनि यस्ता मिनी मार्ट चलाउन सकिन्छ भन्ने उनको ठम्याइ छ। 'मैले सत्र-अठार वर्षअघि नै नेपालका लागि मिनी मार्ट नै राम्रो भनेर आवाज उठाउँदै आएको छु,' उनी भन्छन्, 'बल्ल यसले तीव्र रूप लिएको छ।' उनी आफैंले पनि काठमाडौंको विभिन्न आठ ठाउँमा 'राइट मार्ट'को नाममा मिनी मार्ट खोलिसकेका छन्। यो अभियानलाई निरन्तरता दिने उनी बताउँछन्।
मिनी मार्टको चलन बढ्नुको कारण नेपालीको विदेशसम्म पहुँच हुनु हो भन्छन् २५ वर्षदेखि ‘लाजिम्पाट कोल्ड स्टोर' मिनी मार्ट चलाइरहेका राजेश प्रधानांग। नेपालीहरू विदेश जाने चलन बढ्दो छ। विदेशका ससाना गल्लीमा पनि मिनी मार्ट नै चल्छन्। विदेशबाट फर्केकाले पनि यस्तो पसल चल्छ भनेर खोल्न थाले र मिनी मार्टमा राम्रो सामान पाइन्छ भनेर किन्न पनि थाले। प्रधानांग भन्छन्, ‘पहिले अलि ठूलो पसल देखेपछि नेपाली नै छिर्न हिच्किचाउँथे। महंगो पर्छ, विदेशीको लागि हो भन्ने मानसिकता थियो।' त्यो मानसिकता हट्दै गएको उनी बताउँछन्। खुद्रा सामान बाहिरभन्दा सस्तो पनि पाइने भएपछि ग्राहकको आकर्षण मिनी मार्टतिर बढ्न थालेको छ।
अहिले काठमाडौं उपत्यकाको धेरै ठाउँमा मिनी मार्केट खुलिसकेको व्यापारीहरू बताउँछन्। सामाखुसी, डल्लुपाखा, नयाँ बजार, सानो भर्याङ, वनस्थलीमा पछिल्लो समय मिनी मार्टको संख्या बढेको छ। भित्री गल्लीका मिनी मार्टले राम्रो व्यापार पनि गरेका छन्। लैनचौरमा दुई वर्षदेखि बरदान स्टोरको नाममा मिनी मार्ट चलाइरहेकी सिर्जना थापा ग्राहक तान्नलाई मिनी मार्ट बढ्दै गएको बताउँछिन्। ‘बाहिर र हामीकहाँ सामानको मूल्य लगभग उस्तै हो,' उनी भन्छिन्, ‘मिनी मार्टमा पाइने केही सुविधाले ग्राहक आकर्षित हुन्छन्।'
संकेत श्रेष्ठले नयाँ बजारमा 'भिजिट इम्पेक्स' सुरु गरेको आठ महिना भयो। ६ वर्षदेखि चलिरहेको मिनी मार्ट उनले किनेका थिए। नयाँ बजारमा उनीसँग अहिले तीनवटा मिनी मार्ट पुगिसकेका छन्। उनको मिनी मार्टमा गिफ्ट आइटम, भाँडाकुडादेखि खाद्यान्नसम्म लगभग सबै पाइन्छ। एकै छानामुनि सबै सामान पाइने र सस्तो पनि पर्ने भएकाले ग्राहक मिनी मार्ट छिर्न रुचाउने उनी बताउँछन्।
मिनी मार्टका फाइदा
समय बचत- एकै ठाउँमा धेरै सामान पाइने भएकाले ग्राहकको समय बचत हुन्छ। तरकारी, खाद्यान्य, गिफ्ट सामान, भाँडाकुँडादेखि कस्मेटिकसम्म पाइने भएकाले धेरै ठाउँ घुमिरहनु परेन।
सस्तो सामान- मिनी मार्टमा साना वा ठूला सुपर मार्केटमा भन्दा सस्तो सामान पाइने यसका व्यापारी बताउँछन्। यसका धेरै कारण पनि छन्। साना व्यापारीले थोरै सामान बेच्दा धेरै नाफा खान खोज्छन्। ठूला सुपर मार्केटमा भाडा र अन्य सुविधामा धेरै खर्च हुने भएको सामानमा धेरै नाफा राख्न बाध्य हुन्छन्।
गुणस्तर- मिनी मार्ट गुणस्तरीय सामान पाइने दाबी यसका व्यापारी गर्छन्। दाल, चामल, चिउरा केलाएर दिने गरेको व्यापारी बताउँछन्। त्यस्तै अन्य सामानको स्टक पनि धेरै रहँदैन। समय अवधि नाघेका कुनै पनि सामान नहुने उनीहरू बताउँछन्।
सामानमा मूल्य ट्याग- मिनी मार्टको एक राम्रो सुविधा भनेको हरेक सामानमा मूल्य राख्नु हो। ग्राहकलाई कति हो भनेर सोधिरहनु परेन। आफ्नो क्षमता अनुसार सामान रोजेर किन्न सक्छन्।
आफैं सामान छान्ने - आफूलाई चाहिएको सामान आफै झिक्न पाउँदा ग्राहकलाई सन्तुष्ट हुन्छ। उनीहरूले आफूलाई चाहिएको र आफ्नो क्षमता अनुसार सामान झिक्न पाउँछन्। आफूलाई चाहिएको सामान गोप्य रुपमा किन्न पनि पाउने भए। पुरुषहरूले रक्सि र महिलाले प्याड किन्न धेरै आउने गरेको सबिन बताउँछन्। उनीहरूले ग्राहको चाहना अनुसार गोप्यता पनि राखिदिन्छन्।
बिलिङ सिस्टम- पछिल्लो समय मिनी मार्टमा भित्रीको अर्को सुविधा भनेको थोरै सामानको पनि बिल दिने हो। बिल दिने चलनले ग्राहकमा विश्वास बढ्दै गएको छ।
हामी सस्तो दिन सक्छौं
सामान सस्तो दिएपछि वरिपरीका व्यापारी पनि चकित परेको सबिन बताउँछन्। कसरी यसले सस्तो दिन्छ भनेर धेरैले पनि सोधे। कसैले यो पसल धेरै टिक्दैन भनेर पनि भनेछन्। उनीहरू भने व्यापार बढाउन तिर लागिरहेका छन्।
इलामको मंगलबारेमा सँगै स्कुल पढेका चार साथीहरूले सँगसँगै स्नातकोत्तर गरे। पढाइ सकेपछि काठमाडौंको व्यापारको धेरै अध्ययन गरेपछि मिनी मार्ट खोलेको विनोद घिमिरे बताउँछन्। ‘३५ दिनसम्म काठमाडौं व्यापार रिसर्च गर्यौं,' सविन भट्टराई भन्छन्, ‘काठमाडौंमा मिनी मार्ट राम्रो चल्छ भन्ने हामीलाई लाग्यो।'
व्यापार गर्नको लागि ठाउँ पनि भेट्याए-घट्टेकुलो। बसाइको हिसाबले धेरै घनत्व भएको ठाउँ तर राम्रो पसलको भने असुविधा। प्रकाश श्रेष्ठ, माधव चौलागाँइ, विनोद घिमिरे र सविनले मिनी मार्ट सुरु गरे- सप एट काया। एमआरपी (म्याक्सिमम रिटेल प्राइस) भन्दा सस्तो मूल्यमा उनीहरूले सामान बेच्छन्। यसले गर्दा ग्राहकले पनि मिनी मार्टमा सामान किन्न मन पराउँछन्। उनीहरूको व्यापार फस्टाउँदै पनि गएको छ।
कसरी हुन्छ त सस्तो?
धेरै सामान बिक्री कम नाफा- खुर्दा पसलमा कम सामान बिक्री हुने भएकाले आफ्नो खर्च उठाउन पनि धेरै नाफा राख्नु पर्ने हुन्छ। मिनी मार्टमा एकै दिनमा धेरै सामान बिक्र हुने भएकाले थोरै नाफा राख्दा पनि हुन्छ।
स्किम मेन्टेन- कम्पनीहरूले बिभिन्न स्किम दिइरहेको हुन्छ। जस्तो कि कोक, पेप्सीले १२ केस बिक्री गर्दा एक केस सित्तैमा दिन्छ। त्यो एक केस व्यापारीको लागि पूण नाफा हो। त्यसैले १२ केसलाई एमआरपी भन्दा कम मूल्यमा बेच्न सकिने सबिन बताउँछन्। यस्ता स्किम धेरै कम्पनीले दिन्छन्।
डिस्प्ले सुविधा- कुनै पनि कम्पनीलाई आफ्नो सामान सबै ग्राहकले देख्नेगरी राखोस् भन्ने हुन्छ। त्यसरी राखिदिए बापत कम्पनीले व्यापारीलाई सामानमा विशेष सौलियत दिन्छन्। ग्राहक देख्ने गरी राख्दा सामान धेरै बिक्री भएको अनुभव सविनसँग छ। सामान डिस्प्ले गरेर राखेमा युनिलिभरले ८ हजार प्लस सामान दिने सविन बताउँछन्। त्यसलाई नाफा राख्दा अन्य सामान सस्तो पर्छ। नयाँनयाँ प्रडक्ट आउँदा हरेक कम्पनीले यस्तो सुविधा दिन्छन्।
म्यालु एड- म्यालु एड गर्दा अर्को सामान सस्तो पर्न जान्छ। जस्तो कि इलामको अकबरे खुर्सानी ल्याउँदा ९० देखि १०० रुपैया किलो पर्छ। त्यसलाई आफै प्रोसेसिङ गरेर अचार बनाउँदा धेरै डिम्बा भरिन्छन्। अब अचारको एक डिम्बालाई सय भन्दा धेरैमा बेच्न सकिन्छ। मार्केटमा प्रतिस्पर्धा गर्नको लागि अन्य सामानमा फाइदा राखेर अत्यावसेक सामानलाई सस्तो दिन सकिने सविन बताउँछन्।
२५ वर्षे अनुभव
झन्डै दुइै दशक अगाडी मिनी मार्ट भन्ने कसैलाई थाहा थिएन्। २५ वर्ष अगाडी राजेश प्रधानाङ्गले लाजिम्पाटमा एक पसल खोले-लाजिम्पाट कोल्ड स्टोर। तर अरुले भन्दा अलि फरक। फलाम, काठका र्याक राखे। एक कुनामा काउन्टर राखे। ग्राहकलाई सामानसम्म सिधै पहुँच दिए। प्रधानाङ्ग भन्छन्, 'सामान छान्न सबैलाई खुला होस् भनेर यस्तो तरिका अपनाएका थियौं।' उनले हरेक सामानमा मूल्य अंकित गरे, ग्राहकलाई आफै छान्न दिए। पछि यस्तै किसिमका ठुल्ठुला पसल खुले मिनी मार्केट वा सुपर मार्केट भनेर चिनियो।
उनलाई थाहा भएसम्म त्यतिखेर न्युरोडमा फ्रेस हाउस र फ्रोजन हाउस भनेर उनको जस्तै पसल खुलेका थिए। तर तिनी चलाउन नसकेर पछि बन्द भएको उनी सुनाउँछन्। उनको लाजिम्पाट कोल्ड स्टोरलाई नयाँ शैलीमा अहिले पनि संचाल गरिरहेका छन्।
उनले पसल सुरु गर्दा प्राइस ट्याग लगाउने मेसिन पनि थिएन्। एक सेतो कागजमा हातैले मूल्य लेखेर हरेक सामानमा टस्थे रे। केही वर्षसम्म त्यसरी नै चलाएछन्। पछि एक जना बेलायती नागरिकले सेकेन्ड हेन्ड प्राइस ट्याग मेसिन ल्याएर उनलाई दिएछ। त्यसपछि उनले मेसिनबाट मूल्य अंकित गर्न थाले।
सामान सजाएर राखेको देख्दा ग्राहक पनि दंग पर्थे। एक पटक विदेशीले ल्याएको वाइनलाई सजाएर राखेछन्। यो के हो भनेर धेरैले सोधेछन्। वाइन भनेरको एक किसिमको रक्सि हो भनेर बुझाउनु परेको उनी सुनाउँछन्। यसरी गुजि्रएको समाज अहिले धेरै अगाडी बढिसकेको उनी बताउँछन्।पेशाले इन्जिनियर हुँदा उनी फिलिपिन्स जाँदाको अनुभवले पनि उनलाई मिनी मार्ट चलाउन सघाएको छ। पछि उनले इन्जिनियर पेशा पनि छोडे।
पहिला पहिला नेपालीहरू मिनी मार्टमा छिर्न निकै हिच्किचाउने अनुभव उनीसँग छ। सामानको डेकोरेसन, सफा, किन्ने शैली देखेर नै मिनी मार्टमा छिर्न डराउँथे। उनी सुनाउँछन्, 'सफा देखेर कति त चप्पल खोलेर भित्र पस्थे।' अहिले नेपाली पनि मिनी मार्केटमा सस्तो र राम्रो सामान पाइन्छ भनेर पस्न थालेको उनेको अनुभव छ।
पछिल्लो समय सयौं मिनी मार्केट खुलेको उनी बताउँछन्। कति जना त कसरी चलाउन सकिन्छ भनेर सल्लाह गर्न पनि आएका छन् उनीसँग। ब्लुबर्ड र भाटभटेनी खोल्दा यसरी चलाउन सकिन्छ भनेर सल्लाह दिएको उनी बताउँछन्।
प्रकाशित: ५ आश्विन २०६९ २०:२३ शुक्रबार