चितवनका तीन सय १७ कबुलियति वन नवीकरण हुन सकेका छैनन् । आवश्यक कागजी प्रक्रिया, नीतिगत अस्पष्टता र समन्वय अभावका कारण नवीकरण हुन नसकेका हुन् । वन डिभिजन कार्यालय चितवनका अनुसार जिल्लामा रहेका ४३३ कबुलियति वनमध्ये ११६ वटा वनले मात्र नवीकरण भएका छन् । नवीकरण प्रक्रिया अगाडि बढाउन नसक्दा व्यवस्थापन र उपयोगमा अन्योल देखिएको कार्यालयका प्रमुख विष्णु आचार्यले जानकारी दिए ।
‘गरिब, भूमिहीन वा विपन्न परिवारलाई वनको संरक्षणसँगै आयआर्जनको अवसर दिनका लागि कबुलियति वनको स्थापना गरिएको हो । कबुलियति वनका लागि बजेट नहुँदा हामीले नवीकरण गर्न सकेका छैर्नौँ,’ आचार्यले नवीकरण नहुनुका कारण बताउँदै भने ‘आर्थिक अभाव भएपछि कबुलियति वनमा पुगेर नवीकरण गर्न सकेका छैनौँ ।’
आचार्यका अनुसार, अधिकांश वनले पाँच वर्ष अघिसम्म नवीकरण गरेका छैनन् । निर्धारित समयावधि सकिएपछि नवीकरणका लागि पहल भए पनि प्रक्रिया ढिलाइ हुँदा ती वनहरू अलपत्रजस्तै बनेको उनले बताए । यद्यपि वन कार्यालयले नवीकरणका लागि पहल गरेको उनले बताए । ‘सामुदायिक वनहरु आफैँमा सक्षम छन् । कबुलियति वनहरुहरु आर्थिक रुपमा सक्षम छैनन्,’ उनले भने ‘हामीले जसरी पनि साउन १ गतेसम्म सबै वनको नवीकरण गछौँ ।’
चितवनमा एक हजार ४९७ दशमलव ५ हेक्टर सामुदायिक वन रहेका छन् । सरकारले आवश्यक प्रकृया पुरा गरेपछि उपभोक्ताई पन्ध्र वर्षसम्मका लागि उपभोग गर्न दिन सक्छ । यद्यपि कानुनी प्रकृया अल्लि झन्झटिलो हुँदा समस्या भएको उनले बताए । ‘वन मन्त्रालयले बजेट पठाएन । प्राविधिकहरुले जिविको पार्जनको कार्यान्वयन कार्ययोजना, आम्दानीको स्रोत मुल्यांकन, समुह गठन, साधारणसभा लगायतको सर्वे गर्न सक्नुभएन,’ उनले भने ‘काम गर्न झण्झटिलो प्रकृया हुँदा समस्या भएको हो ।’
व्यवस्थापन र उपयोगको जिम्मा सम्झौता (कबुलियत) मार्फत व्यक्ति वा समूहलाई दिइन्छ । वन संरक्षण, वृक्षारोपण, घाँस–दाउरा उत्पादन, जडीबुटी खेती जस्ता काम गर्न पाइन्छ । सम्झौतामा तोकिएको नियम अनुसार मात्र उपयोग गर्नुपर्छ । नवीकरण नहुँदा ती वन क्षेत्रको संरक्षण, उपयोग र आयआर्जनका गतिविधिमा असर परेको कालिका नगरपालिका ८ स्थित साउनेपानी कबुलियति वनका अध्यक्ष लोकबहादुर मगरले बताए । ‘नवीकरण गरेर हामीलाई सरकारले हस्तान्तरण गरे हुन्थ्यो,’ उनले भने ‘कर्मचारीको अभावले पनि होला हाम्रो वनको नवीकरणमा ढिलाई भइरहेको छ।’ कबुलियति वनमार्फत जीविकोपार्जन गर्दै आएका विपन्न समुदाय थप मारमा परेको उनको बुझाई छ ।
जिल्ला वन डिभिजन कार्यालय चितवनका डिभिजन सुपरभाइजर उषा कुवँरले नवीकरण प्रक्रिया छिट्टै अगाडि बढाइने योजना रहेको बताईन् । ‘विं.स.२०८१÷०८२ सम्ममा २९१ वटा नवीकरण गर्ने लक्ष्य थियो । चालु आर्थिक वर्ष विं.स.२०८२÷८३मा ३१६ वटा गर्नुपर्ने हो,’ उनले भनिन् ‘आगामी दिनमा लक्ष्य अनुसार काम गर्न गरि काम अगाडि बढाएका छौँ।’ आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया मिलाएर बाँकी रहेका सबै कबुलियति वनको नवीकरण गर्ने तयारी भइरहेको उनले बताइन् ।
वन जोगाउने र आयआर्जन बढाउने उद्देश्यले सरकारले कबुलियति वनको अवधारणा ल्याएको हो । ५ देखि १५ जनासम्म भएमा कबुलियति वन घोषणा गर्न सकिन्छ । एक व्यक्तिलाई एक हेक्टर सम्म दिन सक्ने व्यवस्था रहेको छ । वनको कमजोर हैसियत भएका क्षेत्रमा अन्नबाली लगाउन पाइदैन । वन जन्य जडिबुटी लगाएर उपभोक्ताले आम्दानी गर्न सक्छन् ।
प्रकाशित: ७ चैत्र २०८२ १८:४७ शनिबार



