मंगलबार महोत्तरीका दुई जना जेष्ठ नागरिकको कोरोनाबाट मृत्यु भएको छ। मनराशिसवा नगरपालिका–५ का ७७ वर्षीय क्यान्सर पीडित र बलवा नगरपालिका–३ का ७८ वर्षीय स्पाइनलका विरामीसमेत रहेका उनीहरुमा कोरोना पुष्टि भएको थियो।
७७ वर्षीय जेष्ठ नागरिक भरतपुर क्यान्सर अस्पतालबाट उपचार गराउँदै आएका थिए। उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको महोत्तरी स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन गीरेन्द्रकुमार झाले बताए। उपचारबाट फर्किएर सिकिस्त बिरामी भएपछि जलेश्वर अस्पतालमा ल्याउने बित्तिकै मृत्यु भएको झाले बताए।
एम्बुलेन्सबाट ओराल्ने बित्तिकै उनको निधन भएको झाले बताए। उनी रिटायर मालपोत कर्मचारी भएको नगर प्रमुख संजय सिंहले बताए। उनका अनुसार जलेश्वर अस्पतालमै राखिएको मृतकको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने छन्।
बलवाका जेष्ठ नागरिकमा भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपनि जनकपुरस्थित घरमा अक्सिजन लिएर बस्दै आएका उनी सिकिस्त भएपछि सोमबार प्रादेशिक कोभिड अस्पतालमा भर्ना भएको संयोजक डा. जामुनप्रसाद सिंहले बताए। उपचारकै क्रममा मस्तिष्क डेड भैसकेका उनलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो, डा. सिंहले भने,‘उपचारकै क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको छ।’ उनको शव जनकपुरमै नेपाली सेनाबाट व्यवस्थापन गरिँदै छ।
यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
प्रकाशित: ९ भाद्र २०७७ १०:४४ मंगलबार