समाज

कोरोनाबाट सिरहाका एक युवकको मृत्यु

कोरोना संक्रमणबाट लहानका एक युवकको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । आइतबार संक्रमण पुष्टि भएका लहान नगरपालिका -२४ का २२ वर्षीय युवकको सोमबार दिउँसो ३ बजे  प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए ।

मृतक युवक मुटुको बिरामी भएको उपचारमा संलग्न चिकित्सकलाई  उद्धृत गर्दै सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बतए। यससँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । शवलाई मंगलबार धरानबाट लहान ल्याएर  नेपाली सेनाले व्यवस्थापन गर्ने उनले बताए ।

प्रकाशित: ८ भाद्र २०७७ १५:०३ सोमबार