दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा साढे ३ लाख बढी आर्थिक सहयोग संकलन भएको छ। करिब एकसाता गोफण्डमी मार्फत चलाइएको सो अभियानमा ३ हजार ५० डलर अर्थात् झण्डै साढे ३ लाख नेपाली रुपैया संकलन भएको हो।
जीवनभर पत्रकारिता बाहेक कुनै काम नगरेका पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा यो अभियान सुरु गरिएको र ३ हजार ५० डलर ९७ सेन्टरस जम्मा भएपछि अभियान बन्द गरिएको देउजाले जानकारी दिए।
संकलित रकम छिटै नेपाल पठाइने समेत उनले जानकारी दिएका छन्। संकलित रकम गो फण्डको साइटमा समेत गएर हेर्न सकिने देउजाको भनाइ छ।
‘म उहाँ र उहाँको परिवारलाई व्यक्तिगत रुपमा चिन्दिन तर इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर यो सहयोग संकलन गरेको हुँ’, उनले भने। देउजाका अनुसार गो फण्ड चलाएवापत निश्चित रकम कटाएर नेपाल पठाइनेछ। अहिले गो फण्ड बन्द भैसकेको छ। पत्रकार बानियालाई सहयोग संकलन गर्ने देउजा काभ्रेका स्थायी बासिन्दा भए पनि लामो समयदेखि अमेरिका बस्दै आएका छन्।
प्रकाशित: ८ भाद्र २०७७ ०३:५८ सोमबार