आज (आइतबार) ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतीक पाँच प्रकारका अन्नहरु गुराउस, चना, कलउँ, केराउ र गहत) भिजाएर सुदूरपश्चिममा गौरा पर्वको सुरुवात भएको छ । गौरामा ब्रत बस्ने ब्रतालुहरुले आज बिहानै गौराघरबाट तामाको भाँडोमा बिरुडा लिएर नजिकैको धारा तथा तलाउमा गएर भिजाइएको छ । बिरुडा भिजाएर आइतबारदेखि विधिवत रुपमा गौरा पर्वको सुरुवाती भएको हो ।
ऋषि पञ्चमी तथा बिरुडा पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ । भाद्र शुक्ल सप्तमीका दिन गौरालाई खेतबाट गौराघरसम्म भित्र्याउने गरिन्छ । सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाउने चलन छ । गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भित्र्याउने गर्छन् । गौरामा मंगल गानका रूपमा ‘मांगल’ (फाग) गीत गाउने प्रचलन छ । अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ । अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ ।
त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । यसै दिनदेखि ठाउँ–ठाउँमा डेउडा समेत खेलिने प्रचलन रहिआएको छ । ‘सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तिमा पनि पाँच रात राख्ने गरिन्छ,’ गौरामा विद्यावारिधि गरेका डा. टीएन जोशी भन्छन्,‘पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ ।’ सुदूरपश्चिमका हिन्दू धर्मावलम्बी महिलाले अनुष्ठान पर्वको रूपमा मनाइने गौरा पर्वमा यतिबेला सुदूरका गाउँबस्तीमा खुसी छाएपनि कोरोनाका कारण खुलेर गौरा पर्व मनाउन नपाउने निरासा छाएको छ । ‘कोरोनाका कारण यसपालि गौरामा डेउडा खेल्न नपाइने भन्ने छ,’ स्थानीय भोजबहादुर मन्नीले भने,‘यसपालि गौरामा डेउडा खेल्न नपाए पनि अर्को वर्ष खेल्नेगरी पूजाआज गरेरै भए पनि संस्कृति धान्नुपर्ला ।’
सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता अनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा रहेको छ । यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । बाह्मण, क्षेत्री समुदायका पुरुषले जनै लगाए जस्तै यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुबो–धागो’ लगाउने चलन रहेको डोटी बहुमुखी क्याम्पसका प्राध्यापक तथा संस्कृतिविद् डा. बद्री शर्मा बिनाडी बताउँछन् ।
गौराको ब्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयू लामो हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनले भने, ‘शिव र पार्वतीको प्रतिमूर्ति मानेर पूजा गरिने हुँदा तीज र गौराको महत्व उत्तिकै छ ।’ डा. आर.डि. प्रभात चटौतको डोट्याली बृहत शब्दकोषमा पनि हिमालय राजाले छोरी पार्वतीको विवाहका लागि अमुक्ताभरण सप्तमीका दिन महत्वपूर्ण तिथि भएकाले त्यसैको सम्झना स्वरुप गौरा पर्व मनाइने गरिएको उल्लेख गरिएको छ । गौरापर्व डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन् । यस पर्वमा चैत, भागेश्वरको ढुस्को, धुमारी, तुलसीका गीत तथा विभिन्न डेउडा गीत गाएर खेल खेल्ने गरिन्छ । दसैं तिहार भन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाएपछि मात्र ल्याउन पाउने चलन रहेको पण्डित लक्ष्मीराज ओझाले बताए ।
गौरापर्वमा महिलाले गौरा–महेश्वरको उपासना बसी सुस्वास्थ्य, दीर्घायू, समृद्धि र सु–मङ्गलको कामना गर्ने गरेको गौराप्रेमी बताउँछन् । बाह्मण, क्षेत्री समुदायका पुरुषले जनै लगाए जस्तै यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुबो–धागो’ लगाउने गरेको कलासंस्कृतिका जानकार तीर्थराज पाण्डेय बताउँछन् । गौरा पूजा (अष्टमी) देखि नै डेउडा खेल्ने चलन रहेको पाण्ड्ेय बताउँछन् । सुख–दुःख, हाँसो–रोदन, हर्ष–विस्मात, माया–प्रेम, समसामायिक परिस्थिति, विकृति विसंगति डेउडामा व्यक्त हुने गरेको धारणा राख्दै पाण्ड्ेयले भने, ‘गौरा र डेउडा पर्वले आपसी भाइचारा, शान्ति, समृद्धि तथा सह–अस्तित्वको सूत्रमा बाँध्ने गरेको छ ।’
गौरा अष्टमीका दिन पूजाआजा गरिसकेपछि महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले घर परिवारमा सुख, शान्ति र परिवारका सदस्यहरूको दीर्घायूका लागि ब्रत बसी पूजाआजा गर्ने मान्यता छ । बिरुडालाई प्रसादका रूपमा बाँड्ने चलन पनि छ । बिरुडा भुटेर खाने समेत गरिन्छ । ब्रतका क्रममा ब्रतालु महिलाले ‘दुबो–धागो’ पहिरन्छन् ।
गौरालाई यस क्षेत्रमा ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ लगायत पनि भन्ने गरिन्छ । यी सबैको अर्थ पार्वती नै रहेको जानकारहरू बताउँछन् । गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौंदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको जानकार तर्क गर्छन् । प्राध्यापक विनाडीकै कथन अनुसार पनि गौराले गौरा यस क्षेत्रको लोक संस्कृति, लोक साहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीरगाथा र भेषभूषाको प्रस्तुति गर्ने थलो हो । ‘यस क्षेत्रका यति धेरै पहिचानका बिम्ब एकैसाथ प्रस्तुति हुने अर्को कुनै अवसर नै आउँदैन,’ उनी भन्छन्, ‘यसमा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सुप्रसिद्ध डेउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीरगाथा एकैसाथ प्रस्तुत हुन्छन् ।’ यस क्षेत्रको कला, संस्कृति, भेषभूषाको अध्ययन गर्न चाहनेहरूका लागि गौराको समय महत्वपूर्ण रहने उनी बताउँछन् ।
गौरामा महिला नै व्रत बस्छन्, तर पुरुष तथा बालबालिकाले पनि गौरालाई उत्तिकै महत्व दिन्छन् । गौराका समयमा ब्रतालुका घरमा माछा, मासुलगायत परिकार ब्रजित गरिन्छन् । गौरा समाजमा सात्विक विचार भावनाको विकासमा समेत सहयोग पुर्याउने पर्व रहेको जानकारहरू बताउँछन् ।
गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो । डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ । महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् ।
प्रकाशित: ७ भाद्र २०७७ ०८:४१ आइतबार