समाज

रहेनन् बाराको गढीमाई मन्दिरका पुजारी

पशुवलीको लागि प्रशिद्ध बाराको जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुरमा रहेको गढीमाई मन्दिरका मूल पुजारीको शुक्रबार मृत्यु भएको छ। ७६ वर्षको उमेरमा मूल पुजारी दुखन धामीको झाडापखालाका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।  

धामी रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ सिमरी गाउँका स्थायी निबासी हुन। विहीवारदेखि झाडापखाला लागेर बिरामी भएका धामीको गाउँमा सामान्य उपचारपछि निजगढ लगिएकोमा त्यहाँ पनि उपचार हुन नसकी थप उपचारको लागि भरतपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको पुजारी धामीका भतिज विन्देश्वर धामीले जानकारी दिए।  

पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेला गत मंसिरमा लागेको थियो। गत मंसिरको मेलाको मूल पुजारी धामी नै रहेका थिए। धामीको वंश परम्पराबाट नै मूल पुजारी रहने प्रचलन भएकोले अब भगवानले चाहेको आफ्नै वंशको कोही मूल पुजारी बन्ने विन्देश्वर धामीको भनाइ छ। मृतक पुजारीका उमाशंकर धामी र उमेश धामी गरी दुई छोरा रहेका छन्।  

मृतक धामीको अन्तिम संस्कार सिमरी गाउँनजिकै बकैया खोलामा पारिवारिक चलनअनुसार गरिएको छ । मृतक धामी बारा र रौतहटमा एकजना श्रद्धेय पात्रका रुपमा परिचित थिए।

 

 

 

प्रकाशित: ५ भाद्र २०७७ ०८:४४ शुक्रबार