देउखुरी गोवरडिहाका राजु चौधरीलाई २०७४ चैतमा जिल्ला अदालतबाट पत्र आयो। पत्रमा उल्लेखित विषयले राजु झस्किए। उनीमाथि अंश मुद्दा परेकाले अदालतले उनलाई हाजिर हुन भनेको थियो। ‘ममाथि अंश मुद्दा परेको अदालतको पत्रमा पढेपछि झल्याँस्स भएँ,’ उनले भने। उनका लागि अकल्पनीय यो मुद्दा ७/८ पुस्ता अघिको थियो। ७/८ पुस्ता अघिसम्म आफूहरु एकै घरको परिवारका सदस्य रहेको र हालसम्म अंश नपाएको भन्दै उनका केहि आफन्तीहरुले मुद्दा दायर गरेका रहेछन्।
को थिए अंश दाबी गर्दै मुद्दा हाल्ने? उनले थपे ‘७/८ पुस्ता अघिको सम्पत्ति माग गर्दै गोत्यारहरुले हालेका रहेछन्।’ तर राजुलाई त्यति पुरानो सम्बन्धका बारेमा केहि थाहा छैन। मुद्दा दर्ता गरेकाहरु एकै घरपरिवारका सदस्य नरहेको दाबी गरेका राजुका अनुसार उनीहरु केवल आफन्ती मात्रै हुन्। तर अंश दाबी गर्न लायक परिवारका सदस्यहरु भने होइनन्। ‘त्यति पुस्ता अगाडीको मुद्दा अहिले कसरी पर्यो?’ उनले भने ‘मैले पुराना जानकारहरुबाट बुझे अनुसार मुद्दा दर्ता गर्नेहरु आफन्तीहरु मात्रै हुन्, तर अंशियार होइनन्।’
राजुका काका बामदेव चौधरीले भने यहि मुद्दा ०७४ चैत यता खेपिरहेका छन्। उनलाई पनि मुद्दा दायर गरेकाहरुले बिपक्षी बनाएका छन्। वृद्ध चौधरी पनि ७/८ पुस्ता अघिको मुद्दाको तारेख बोक्न अदालत धाईरहेका छन्। ‘त्यति पुरानो घटना, कसरी अहिले आएर अंश दाबी गरियो?’ उनले भने ‘त्यो बेलाका मान्छेले किन अंश मागेनन् वा दाबी गरेनन्, तर अहिले आएर ७ पुस्ता अघिको एउटै परिवार थियौँ भनेर अंश माग गर्दै मुद्दा हालियो।’
राजु र उनका काका बामदेव मात्रै होइनन्, उनीहरुसंगै देउखुरीका सिंगो चार गाउँ विरुद्ध अंश माग दाबी गर्दै मुद्दा परेको छ। मुद्दा खेप्नेहरु यी चार गाउँका १ सय ७५ जना छन्। यी १ सय ७५ परिवार राजु र बामदेवका एकै घरानाका हुन्। ७/८ पुस्ता अघिदेखि अहिलेसम्म अलग अलग भएका यो घरानाका सबैलाई अंश माग दाबी गर्दै मुद्दा हालिएको हो। उनीहरुको नाममा रहेको कुल १ हजार ८ सय ६५ विघा जम्मामा अंश दाबी गरिएको छ। मुद्दा खेप्नेहरु देउखुरीको गोवरडिहा, मञ्झिरिया, बड्का सिसहनीयाँ र अन्ननपुरवाका १ सय ७५ परिवार छन्। आफूहरुको जोडबलमा धेरथोर सम्पत्ति जोडेका यि परिवार विरुद्ध अंश मुद्दा परेपछि चिन्तीत बनाएको छ। ‘कुरा ७/८ पुस्ता अघिको, तर मुद्दा अहिले हालेर हामीहरुलाई फसाउन खोजियो,’ राजु भन्छन्, ‘आफ्नो बलबुताले जोडेको सम्पत्तिमा गैर घरपरिवारका सदस्यले आँखा गाड्नुले धेरै परिवारलाई चिन्तीत बनाएको छ।’
यी परिवार परशुनारायण चौधरीको घराना हो भने मुद्दा दर्ता गर्ने नेकपा सांसद गंगा चौधरीको परिवारको घराना हो। मुद्दा दर्ता गर्ने मध्येका अगुवा सांसद चौधरीका देवर रमेश चौधरी हुन्।
उनीहरुको अंशको हकदार आफूहरु रहेको भन्दै मुद्दा हाल्नेहरु ३० भन्दा बढि छन्। उनीहरुले आफूहरु पनि एकै घरपरिवारको सदस्य रहेको हालसम्म अंश नपाएकाले आफूहरु अंशियार दाबी गर्दै ‘पैत्रिक अंश’ माग दाबी गरेका छन्। तर उनीहरुको माग दाबी गलत रहेको बिपक्षीहरुले बताएका छन्। उनीहरुका अनुसार अहिले आफूहरु विरुद्ध मुद्दा दर्ता गर्नेहरु गोत्यार मात्रै रहेको तर अंशियार नभएको बताए।
‘उनीहरु हाम्रो घरानाको मोहि किसान रहेको इतिहास बोल्छ,’ राजुले भने, ‘अंशियार भएको मान्छे कसरी मोहि भयो त?’ सात पुस्ता अगाडीसम्म अंश माग नभएको तर अहिले १ सय ७५ परिवारलाई बिपक्षी बनाई मुद्दा दायर गरिनुले पनि नियतवस फसाउने षडयन्त्र रचेको प्रष्ट हुने बिपक्षीहरुको दाबी छ। ‘त्यति अगाडीको कुरालाई लिएर अहिले मुद्दा मामिला गर्नुपर्ने कारण के हो? प्रष्टै छ, हामीहरुलाई दुःख दिनु हो,’ बामदेवले भने, ‘यस अगाडीका पुस्ताले किन अंश माग गरेनन् त?’
उनका अनुसार अहिले मुद्दा दर्ता गरेको पक्ष आफूहरुको अंशियार नरहेको तर गोत्यारहरु मात्रै हुन्। जुनसुकै तरिकाले आफूहरुको सम्पत्ति हत्याउने प्रपञ्च रचिएको भन्दै राजुले केहि परिवारबाट नगद समेत असुल गरेको कागज गराईएको दाबी समेत गरे। ‘जग्गा नदिने भए रकम देउ भनेर १४/१५ लाख केहि परिवारबाट लिएको भनेर कागज गराईएको समेत छ,’ उनले भने ‘यसरी रकमै दिएको कागज गराएपछि त सम्पत्तिमा माग दाबी बलियो बनाउने दाउ रचिएको छ।’
यता अंशियार दाबी गरेकाहरुले भने आफूहरु एकै परिवारका सदस्यहरु रहेको दाबी गरेका छन्। केहि समय अघि ५ सय जनाको परिवार रहेको र अंश बण्डा नगरि मौजा मौजामा परिवारका सदस्यहरु बस्न गएको अंशियार दाबी गरेका रेशमले बताए। ‘हामीहरु एकै परिवारका सदस्यहरु हौँ,’ उनले भने ‘त्यो बेला अंशबण्डा भएन, तर मौजा मौजामा अलग अलग बस्न थालेपछि परिवार टुटेको हो।’ ७ पुस्ता अघिको जग्गाको विषयमा अहिले किन अंशमाग दाबीको मुद्दा? उनले भने ‘हाम्रो पुरानो पुस्ताले अंश माग गर्दै आएको रहेछ, तर नदिइएको रहेछ।’ फलतः आफूहरु १ सय ७५ परिवारको अंशियार भएको उनले दाबी गरे।
मृतकमाथि पनि मुद्दा !
सिंगो चार गाउँ विरुद्ध अंश दाबी गर्दै मुद्दा दायर गरेकाहरुले मृतकमाथि समेत अंश माग दाबी गर्दै मुद्दा दायर गरे। स्थानीय दुखरामी चौधरीको अंश माग दाबी गर्दै अंशियार दाबी गरेकाहरुले मुद्दा दायर गरे। तर उनको पहिल्यै निधन भैसकेको थियो। ‘मृत्यु भैसकेकाहरुलाई समेत छोडिएन,’ मुद्दाका बिपक्षी राजुले भने ‘सबैलाई मुद्दा हालेर अप्ठेरो पार्न खोजिएको गलत नियत हो यो।’ अंशियार दाबी गरेका रमेशले पनि मृतकमाथि मुद्दा हालिएको स्वीकारे। ‘सुरुमा गल्ति भयो, पछि त्यसलाई करेक्सन गर्यौँ,’ रमेशले भने।
यता विपक्षीका तर्फबाट यो मुद्दा हेरिरहेका अधिवक्ता रेवतीरमण घिमिरेले ७/८ पुस्ता अघिको अंश माग दाबी गर्दै परेको यो मुद्दा अहिले चलिरहेको छ। उनले भने ‘७/८ पुस्ता अघिको सम्पत्ति माग दाबी गर्दै चार गाउँका १ सय ७५ जना विरुद्ध मुद्दा हालियो, यो मुद्दा अहिले पनि चलिरहेको छ, टुंगिसकेको छैन।’
***
अंश मुद्दा सम्मानित दाङ देउखुरी जिल्ला अदालतमा हाल बिचाराधिन रहेको छ। पीडित फिरादी पक्षलाई गम्भीर आघात पुग्ने एवं अदालतमा चलिरहेको मुद्दामा हाम्रा बिरुद्ध आएको समाचारमा सत्यता नभएको जनाउँछु। अंश जस्तो नैसर्गिक र जन्म शिद्ध अधिकार माथि मुद्दाको विषय र तथ्ययगत प्रश्न नै नबुझी एक पक्षीय ढंगबाट समाचार आएकोमा खण्डन गर्दछु।
रमेश कुमार चौधरी
दाङ राप्ती गाउँपालिका वडा नं. ७ छोट्की सिसहनिया
प्रकाशित: ४ भाद्र २०७७ ११:४२ बिहीबार