समाज

धनपालथानबाट ३ सय केजी गाँजा बरामद

मोरङको धनपालथानबाट प्रहरीले बिहीबार ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

बिहीबार बिहान (बिहानका राति) १ बजेतिर धनपालथान गाउँपालिका–१ स्थित गदिया खोला किनारबाट ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । 

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले सशस्त्र प्रहरीको सहयोगमा खोला किनारबाट गाँजा बरामद गरेको हो । खोला किनारमा बेवारिसे अवस्था गाँजा फेला परेको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘१० वटा बोरामा प्याक गरेर राखेको अवस्थामा गाँला फेला पर्‍यो । गाँजा कसले ल्याएर राखेको भन्ने खुलेको छैन । बरामद भएको गाँजा इप्रका रंगेलीमा राखेर अनुसन्धान थालिसकेका छौँ ।’

भारतसँग सीमा जोडिएको पालिका भएकाले भारत लैजानका लागि भण्डारण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पछिल्लो समय मोरङको जहदा, धनपालथानबाट गाँजा प्रहरी दैनिक जस्तो बरामद गर्दै आएको छ । मोरङ भारतसँगको मुख्य नाका विराटनगरको रानीमा सुरक्षा कडाइ गरेपछि लागुऔषध तस्करहरू विराटनगरको पूर्वी क्षेत्र जहदा, धनपालथान, रंगेलीको नाका प्रयोग गर्न थालेका छन् ।

यी नाका हुँदै नेपालबाट गाँजा भारततर्फ जाने र भारतबाट नेपालतर्फ ब्राउन सुगर आउने गरेको छ । 

प्रकाशित: १ श्रावण २०८२ १४:५५ बिहीबार

#NagarikNews