रसुवामा आएको बाढी तथा पहिरोपछि मधेश प्रदेशका विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन बनेका परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक गर्दै खोजी तथा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले सम्पर्क विहीन हुनेमा सबैभन्दा धेरै पर्साका १७ जना, सर्लाहीका ६ जना, बाराका ३ जना, रौतहटका २ जना र सप्तरीका २ जना रहेका छन्।
उनीहरूमध्ये केही रसुवामा कामको सिलसिलामा पुगेका तथा केही अन्य जिल्लाबाट हाल पर्सालगायतका क्षेत्रमा बस्दै आएका व्यक्ति रहेको विवरणमा उल्लेख छ।
पर्साका सम्पर्कविहीन
पर्साबाट वीरगञ्ज महानगरपालिका–१४ बहुअरीका नारायण पटेल, वीरगञ्ज–१५ लक्ष्मणवाका श्यामबाबु ठाकुर र पृथ्वी चौधरी, वीरगञ्ज–१३ का कमरुल होदा अंसारी, वीरगञ्ज–४ बिर्ताका अनुतम बहादुर श्रेष्ठ तथा अन्य व्यक्ति सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, कलैया–२२ का सुबोध पटेल र अरुण हजरा, हेटौंडा–८ कमानेका उकेश दंगोल, सिन्धुलीका संजय तामाङ, मकवानपुर पालुङका आकाश तामाङ, बरियारपुर–८ बाराका सुभाष पटेल, परवानीपुर–४ चैनपुरका समिम देवान, हेटौंडा–११ बस्तिपुरका अभिषेक बस्तोला र घनश्याम बस्तोला तथा निजगढका दिनेश परियार पनि सम्पर्कविहीनको सूचीमा छन्।
पर्साको सूचीमा रहेका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धार भई सम्पर्कमा आइसकेको प्रहरी विवरणमा उल्लेख छ।
बाराका तीन जना
बाराबाट परवानीपुर गाउँपालिका–५ बहुअरी टोलका नारायण सिंह, कलैया उपमहानगरपालिका–२२ धोध टोलका सत्यप्रकाश राम र आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका अन्कित पटेल सम्पर्कविहीन रहेको जनाइएको छ।
रौतहटका दुई जना
रौतहटबाट वृन्दावन नगरपालिका–२ का गौरव राउत र ईशनाथ नगरपालिका–४ का शेख मजिद सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
सर्लाहीका ६ जना
सर्लाहीको लालबन्दी नगरपालिका–९ का माधव काफ्ले र अनुज काफ्ले, लालबन्दी–५ का कृष्णप्रसाद धमला, द्वारिका दंगाल र चिरञ्जीवी खतिवडा तथा हरिवन नगरपालिका–५ घुर्कौलीका सुनिल कुशवाहा सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
सप्तरीका दुई जना
सप्तरीबाट विष्णुपुर गाउँपालिका–१ का अजयकुमार यादव तथा शम्भुनाथ नगरपालिका–८ का साजन चौधरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
साजन चौधरीको हकमा दुईवटा सम्पर्क नम्बर उपलब्ध गराइएको छ।
रसुवामा आएको बाढी तथा पहिरोका कारण सडक, सञ्चार तथा आवतजावत प्रभावित भएकाले सम्पर्कविहीन व्यक्तिको यकिन अवस्था तत्काल खुल्न कठिन भइरहेको छ।
परिवार तथा आफन्तले आफ्ना सदस्यहरूको अवस्थाबारे जानकारी नपाउँदा चिन्ता बढेको बताएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयले सूचीमा रहेका व्यक्तिबारे कसैलाई जानकारी भएमा सम्बन्धित परिवार वा प्रहरीलाई खबर गरी खोजी तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ।
प्रहरीले सम्पर्कविहीनको विवरण संकलन तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको प्रवक्ता ढकालले बताए ।
प्रकाशित: ११ भाद्र २०८३ १३:४६ बिहीबार