समाज

हराएको ३ दिनपछि भेटियो ३ वर्षीया बालिकाको शव: बला*त्कारपछि ह*त्या भएको प्रहरी निष्कर्ष

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा तीन वर्षीया बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या भएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले संलग्न रहेको आरोपमा म्याजिकका सहचालकसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने अन्दाजी १६ वर्षीय सुमन थापा र ना. १ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा-१ का २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्। सुमन सोही म्याजिक गाडीका सहचालक हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जितपुरसिमरा उपमहानगरपालिका-१, दसधुरी निवासी मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी गत साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि आफ्नै घरबाट एक्कासी हराएकी थिइन्।

परिवारजन तथा आफन्तले खोजी जारी राखे पनि बालिकाको कुनै पत्तो लाग्न सकेको थिएन। त्यसको तेस्रो दिन अर्थात् भदौ २ गते मंगलबार साँझ करिब ५ः४५ बजे जितपुरसिमरा-१ स्थित भक्तिनगरमा वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घरको खाली कोठामा नाम, थर र ठेगाना नखुलेको अवस्थामा एक बालिकाको शव भेटिएको सूचना स्थानीयले दिएपछि प्रहरी तत्काल सक्रिय भएको थियो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीको कमान्डमा घटनास्थल अपराध अनुसन्धान (सोको) सहितको टोली घटनास्थलमा पुगेको थियो।

लगत्तै जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमान्डमा अर्को विशेष अनुसन्धान टोली पनि घटनास्थल पुगेको थियो।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप सुक्ष्म अनुसन्धानका लागि नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोलीसमेत झिकाइएको थियो।

अनुसन्धान टोलीले शवको सनाखत गर्दा तीन दिनअघि हराएकी ३ वर्षीया गरिमा चौधरी नै भएको पुष्टि गरेको थियो। त्यसपछि प्राविधिक तथा स्थलगत अनुसन्धान तीव्र पारेको प्रहरीले घटनामा ना. १ ज ७७५८ नम्बरको म्याजिकका सहचालक १६ वर्षीय सुमन थापाको प्रत्यक्ष संलग्नता रहेको तथ्य फेला पारेको हो।

प्रहरीको प्रारम्भिक बयान तथा अनुसन्धान अनुसार साउन ३१ गते बिहान सहचालक थापाले ३ वर्षीया गरिमालाई चकलेट किनिदिने प्रलोभन देखाएर फकाई-फुलाई एकान्तमा रहेको वीरबहादुर रोकाको खाली घरमा पुर्‍याएका थिए।

त्यहाँ पुर्‍याएपछि उनले नाबालिकामाथि जबर्जस्ती करणी गरी कसैलाई थाहा नहोस् भन्ने उद्देश्यले हत्या गरेको खुलेको छ।

जघन्य अपराधमा संलग्न सुमन थापा र घटनामा जोडिएको ना. १ ज ७७५८ नम्बरको म्याजिकका धनी प्रोग्रेस चौधरी दुवैलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक बालिकाको शव पोस्टमार्टम तथा आवश्यक फरेन्सिक जाँचका लागि अस्पताल पठाइएको छ।

घटनाको थप प्राविधिक तथा कानुनी पक्षमा गहिरो अनुसन्धान जारी रहेको र दोषीउपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०८३ १५:४४ बुधबार