समाज

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ।  केन्द्रले चालु आर्थिक वर्ष २०८१/८२ मा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काउन प्रोत्साहनस्वरूप २९ लाख ९० हजार रूपैयाँ अनुदान दिएको हो।

केन्द्रका प्रमुख रविन्सन अधिकारीका अनुसार १२९ किसानलाई २९९ पाडीबाच्छी हुर्काएबापत १० हजारका दरले अनुदान वितरण गरिएको हो। अनुदानका लागि ३२१ पाडाबाच्छी पालेका किसानले आवेदन दिएका थिए।

कार्यालयले गत आर्थिक वर्षमा ३२७ कृषकलाई ६० लाख ४० हजार रूपैयाँ अनुदान उपलब्ध गराएको थियो। त्यस वर्ष ६०४ पाडाबाच्छी हुर्काएबापत अनुदान उपलब्ध गराइएकामा चालु आवमा बजेट घटेकाले कम किसान लाभान्वित छन्।

गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। 

प्रकाशित: २७ असार २०८२ ०९:५८ शुक्रबार

# Nagarik