समाज

काभ्रेमा ६० करोड हिनामिनाको आरोपमा अग्नी सहकारीका ३ जना पक्राउ

काभ्रेपलाञ्चोक जिल्लाको अग्नी बचत तथा ऋण सहकारी संस्थाले ६० करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पछिल्लो पटक तीन पक्राउ  परेका छन् । भक्तपुरको गुण्डुमा रहेको एक रिसोर्टस तथा अग्नी ट्रेडर्ससहितका परियोजनाको नाममा गैर कानुनी ऋण प्रवाह गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा  दिनेश वैद्य र उज्ज्वल वैद्य र रविन्द्र श्रेष्ठ रहेका छन् । उज्ज्वल भने लक्ष्मी सनराइज बैकको बाग्मती प्रदेशको प्रबन्धक हुन । उनी बैकमा रहेका बेला ऋण प्रवाह भएको र त्यसको उनको संलग्नता रहेकाले पक्राउ परेको प्रहरी स्रोतको दाबी छ । उनकै मिलेमतोमा धेरै रकम हिनामिना भएको काभ्रे प्रहरी स्रोतले जानकारी दिएको छ ।  

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी मीनबहादुर घलेले उनीहरूको विषयमा अनुसन्धान भइरहेको बताए । ‘अग्नी बचत तथा ऋण सहकारीको सम्बन्धमा केही व्यक्तिहरू पक्राउ परेका छन् उनीहरूको बारेमा अनुसन्धान भइरहेको छ’, डिएसपी घलेले भने । उनका अनुसार अनुसन्धानमा अझै केही दिन समय लाग्नेछ ।  

यो सहकारीको ठगीको विषयमा संलग्न व्यक्तिहरूको विरुद्ध अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बनेपा नगरपालिका वडा नम्बर ८, सिनागलमा रहेको यस सहकारी संस्थामा विभिन्न समयमा विभिन्न शीर्षकहरूमा संकलन गरिएको रकम हिनामिना गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको पनि जनाएको । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सहकारीका सञ्चालकहरूले बचतकर्ताहरूको रकम हिनामिना गरेको प्रमाण फेला परेको र केही व्यक्तिहरूलाई पक्राउ पनि गरिएको जनाइएको छ ।  

साउन २१ मा जिल्ला प्रहरी कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै, पीडित बचतकर्ताहरूलाई आवश्यक प्रमाणसहित सात दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको थियो ।  ‘पीडितहरूले आफ्नो पासबुक, बचत पुस्तक, भौचर, मुचुल्का लगायतका कागजातहरू तथा नागरिकता प्रमाणपत्र वा कुनै पनि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलस्थित आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुनुपर्नेछ’, सूचना भनिएको थियो ।

प्रकाशित: १५ भाद्र २०८२ १८:१८ आइतबार