समाज

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। नेपाल प्रहरीको  तथ्यांकअनुसार दुर्घटनामा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १६ जना र कोशी प्रदेशमा १५ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार कर्णाली प्रदेशमा तीन, सुदूरपश्चिम प्रदेशमा १० र बागमती प्रदेशमा पाँच जना घाइते भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। कोशी प्रदेशमा एक जनाको मृत्यु र १५ जना घाइते भएका छन्। मधेश प्रदेशमा ११, काठमाडौं उपत्यकामा ११ र लुम्बिनी प्रदेशमा १६ जना घाइते भएका छन्। देशभरका दुर्घटनामा कुल तीन जनाले ज्यान गुमाएका छन्। 

मृत्यु हुनेमध्ये मोरङको विराटनगर महानगरपालिका ३ निवासी ५० वर्षीय अजयकुमार राजवंशी रहेका छन्। उनी साइकलमा घर फर्कने क्रममा अचानक खाल्डोमा परी गम्भीर घाइते भएका थिए। उपचारका लागि विराट टिचिङ अस्पताल लगिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। 

यस्तै, कास्कीको पोखरा महानगरपालिका १४ मा चेकजाँचबाट बच्न खोज्दा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा२६ निवासी १७ वर्षीय संयोग भण्डारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जीएमसी अस्पताल, पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

त्यसैगरी, नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका २ स्थित बिसहडी मोडमा अनियन्त्रित भएको रिक्सा दुर्घटनामा रूपन्देहीको देवदह नगरपालिका ९ निवासी ४९ वर्षीय शिव बर्याल गम्भीर घाइते भएका थिए। उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ श्रावण २०८३ ११:५९ शनिबार