समाज

तीन हजार बढी सवारीसाधन कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन्। एक महिनाको अवधिमा  कारबाहीमा परेकाबाट प्रहरीले ३३ लाख ८६ हजार ५०० रकम राजश्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।   

उनका अनुसार असोजमा सुदूरपश्चिममा २३५ वटा सवारी दुर्घटना भएका थिए। जसमा १२ जनाको मृत्यु भएको थियो भने ३६३ जना घाइते भएका थिए। दुर्घटनामा ३२१ सवारी संलग्न रहेका थिए। विष्टका अनुसार २०८ वटा दुर्घटना चालकको कारण भएका छन् भने छ वटा मादक पदार्थ सेवनका कारण भएका छन्।  

त्यसैगरी, सवारीसाधनका कारण नौ वटा, यात्रुको कारण एक वटा, पैदलयात्रुको कारण दुई वटा, चौपायाको कारण पाँच वटा र सडकको कारण चार वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। 

‘प्रहरीले सवारीको यान्त्रिक परीक्षण गर्ने कार्यक्रमको सुरुआत गरेको छ।’,  विष्टले भने। 

प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएर दुई करोड २० लाख छ हजार मूल्य बराबरको भन्सार छली गरेर ल्याएको सामान नियन्त्रणमा लिएको छ। 

प्राकृतिक सम्पदा दोहनमा संलग्न पाँच जना मानिस र २८ वटा सवारीसाधन बरामद गरी तीन लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको छ। 

यसमा संलग्न नौ जना मानिसलाई पक्राउ गरिएको छ। अवैध वन पैदावार चोरीमा ६२ क्युफिट काठ बरामद गरेर तीन लाख १५ हजार राजश्व सङ्कलन भएको छ। अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले ११ लाख १२ हजार ३०० रुपैयाँ राजश्व सङ्कलन गरेको छ। 

प्रकाशित: १० कार्तिक २०८३ १३:२८ मंगलबार