समाज

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

रौतहट सदरमुकाम गौरमा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

गोली लागेर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी वसन्त गौतमले जानकारी दिए।

गोली प्रहार गर्नुको कारण तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ ०७:२६ बुधबार