दाङमा मोटरसाईकलको नक्कली ब्लुबुक बनाउने एक गिरोह फेला परेको छ। यातायात व्यवस्था कार्यालयका एक कर्मचारी समेत सम्मिलित यो गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नक्कली ब्लुबुक बनाउने कार्यमा संलग्न रहेको भन्ने सूचनाका आधारमा प्रहरीले यो गिरोहमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी कृष्ण प्रसाद खनाल, तुलसीपुर ६ का अब्दुल हसिब सिद्धिकी, सोही स्थानका चक्रवहादुर ओली,जीवन पोख्रेल र बिष्णु घिमिरे छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनिहरुले सरकारी छाक किर्ते गरि नक्कली ब्लुकबुक बनाएर विक्री गर्ने गरेको खुलेको छ। उनिहरुले यातायात व्यवस्था कार्यालयको छाप, तथा शाखा अधिकृतको समेत छाप किर्ते गरेका छन्।
प्रहरीले उनीहरुको साथबाट एउटा मोटरसाईकलको ब्लुबुक, प्रदेश सरकार प्रदेश नम्बर ५ भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, उक्त कार्यालयका शाखा अधिकृतको छाप, ब्लुबुक तयार पार्नका लागि संकलन गरिएका विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमती, पुराना ब्लुबुक, निरोगिताको दस्तखत र छाप हानेका कागजात समेत बरामद गरेको छ। उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।
१० वटा मोटरसाईकल चोर्ने १४ जना पक्राउ
यसैगरि जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा १० थान मोटरसाईकल चोरी गरेका १४ जनालाई पनि सार्वजनिक गरेको छ। पक्राउ परेका उनीहरुलाई आईतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाईकल चोरी गरेको भन्दै घोराही १४ का समीर सुनार,सोही स्थानका सुवास कार्की,घोराही १६ का सागर हमाल र केन्द्रवहादुर डाँगी,लमही ७ का प्रकाश चौधरी, राजपुर गाउँपालिकाका आयोज चौधरी र प्रियतम चौधरीलाई नियन्त्रणमा लिईएको छ। यसैगरि लमही ७ का पाल्टु राम चौधरी, राजपुर २ का रवी प्रताप यादव र राजकुमार यादव, घोराही १७ का निरज योगी,लमही ७ का धनिराम चौधरी,घोराही १३ का सञ्जय परियार लमही ७ का हेमन्त गिरीलाई पनि प्रहरीले पक्राउ परेको छ। प्रहरले उनिहरुले चोरी गरेका मोटरसाइकल समेत बरामद गरेको छ।
प्रकाशित: ४ श्रावण २०७७ ०९:१९ आइतबार