संवेदनशील जिल्लाको सूचीमा रहेको कपिलवस्तुमा जिल्ला प्रहरी कार्यालयले २ सय ६६ वटा सीसीटीभी क्यामरा जडान गरेको छ। पालिका तथा अन्य निकायको सहयोगमा जिल्लाका १० वटै पालिकामा ती सीसीटीभी सञ्चालनमा ल्याइएको हो। विभिन्न चोक तथा संवेदनशील स्थानमा सीसीटीभी जडान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरी क्यामराको औपचारिक उद्घाटन गरेको हो। जडान गरिएका सीसीटीभीको मनिटर जिल्ला प्रहरी कार्यालयबाट निगरानी गरिनेछ।
जिल्ला प्रहरी कार्यालयमा कपिलवस्तु नगरपालिकाका विभिन्न नौ स्थानमा जडान गरिएका १४ वटा सीसीटीभीको मनिटरको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलशरण चौधरी तथा प्रहरी उपरीक्षक मनोहर भट्टले संयुक्त रूपमा रिमोट कन्ट्रोल थिचेर गरेका थिए।
कपिलवस्तु नगरपालिकाको दोहनी, जमुहार, बर्दाहवा, हुलाकी सडकलगायतका नौ स्थानमा गरी १४ वटा सीसीटीभी जडान गरिएको छ। जमुहार पुलनजिक भने अटोमेटिक नम्बर प्लेट रिडर (एएनपीआर) प्रविधिको सीसीटीभी जडान गरिएको छ।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले सीसीटीभी प्रणालीले दुर्घटना तथा अन्य घटनाको अनुसन्धानमा सहयोग पुग्ने बताए। उनले आगामी दिनमा आवश्यक स्थानमा थप क्यामरा विस्तार गरिने जानकारी दिँदै यसबाट जिल्लामा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रहरी उपरीक्षक मनोहर भट्टले संवेदनशील तथा भारतसँग ९३ किलोमिटर सीमा जोडिएको कपिलवस्तुमा जडान गरिएको सीसीटीभीले आपराधिक क्रियाकलाप नियन्त्रणमा मद्दत पुग्ने बताए। उनले शान्ति–सुरक्षा कायम गर्ने कार्य प्रहरीको मात्र नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे। समाजमा हुने अपराध रोकथाम, प्रभावकारी अनुसन्धान तथा विकृति–विसङ्गति न्यूनीकरणका लागि स्थानीय तह, सरोकारवाला निकाय र नागरिकबीचको सहकार्य आवश्यक रहेको उनले बताए।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शान्ति–सुरक्षा कायम गर्न प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए। जिल्लामा हुने हरेक गतिविधिलाई व्यवस्थित बनाउन स्थानीय तहले प्रहरीसँग निरन्तर समन्वय गर्ने उनले बताए।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले डिजिटल प्रविधिको प्रयोगले शान्ति–सुरक्षा तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने बताए। खुला सीमाका कारण हुने गतिविधिको निगरानी तथा अनुसन्धानमा सीसीटीभी प्रणाली प्रभावकारी हुने उनको भनाइ थियो।
कार्यक्रम प्रहरी उपरीक्षक मनोहर भट्टको अध्यक्षता तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।
प्रकाशित: २६ असार २०८३ १७:३७ शुक्रबार