दक्षिण ढोकामा जातीय पहिचानसहितको राज्य माग्दै धर्नामा बसेका राई , लिम्बु तथा थारु आ-आफ्नो संस्कृती झल्कने गीतमा ढोलक बजाउदै नाचिरहेका देखिन्थे। उत्तर-पश्चीम कुनामा जातीय पहिचानसहितको राज्यको विरोधमा बाहुन-क्षेत्रीसहितका समुदायले खैजडी बजाइरहेका थिए।
संविधान सभा भवनको पश्चिम सडकमा मगर, गुरुङ र नेवार मोर्चा कसेर बसेका थिए। मगरात र नेवा राज्यको माग गरेका रुमाल टाउकोमा बाधेका उनीहरु कहिले धिमे तथा कहिले डम्फुको तालमा नाच्थे। संखमुल जाने बाटोमा भने माझी राज्यको माग राख्दै भुजेल तथा सुनुवार समाजका सदस्य धर्नामा थिए।
संविधान सभा भवन वाहिरको गतिविधि खिच्न पत्रकारकोपनि बाक्लो उपस्थिति थियो। प्रेस लेखेका ज्याकेट लगाएका उनीहरुले आफुतिर लामा क्यामरा तेर्साउदा जनजाति मुसुक्क हासिदिन्थे। केही दिन अघिमात्र आन्दोलन कभरेज नगरेको उनीहरुको गुनासो मेटिएको भान हुन्थ्यो।
विहान ११ बजेदेखीनै धर्नामा आएका उनीहरुले अपरान्हको खाजा पनि सडकमा खाए। 'अधिकारको लागि सडकमै नाच्यौ यहीँ खाजा खायौ ', संखुवसभा घर भई हाल राजधानीमा बस्दै आएकी सिदा भोटेले भनिन् -' अव 'हक' लिएर मात्र घर फर्कने छौ।
संविधान सभा भवनको सुरक्षाको लागी सुरक्षाकर्मीले दिनभरजसो त्यस वरपर सर्वसाधरणको आगमनमा निक्कै कडाई गरेको छ।
प्रकाशित: १४ जेष्ठ २०६९ १४:१० आइतबार