रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका शवहरूको खोजी तथा व्यवस्थापन जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म २६० वटा शव फेला परेका छन् भने सय वटा शवको देवघाटस्थित जंगलमा व्यवस्थापन गरिएको छ।
शवहरूको डीएनए नमुना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी चन्द्रभूसन यादवले जानकारी दिए।
यस्तै, हालसम्म ९ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ। सनाखत भएकामध्ये ८ पुरुष र १ बालिका रहेका छन्।
यस्तै हालसम्म फेला परेका २५९ शवमध्ये ६० महिला, १०७ पुरुष, ६ बालक, ४ बालिका र ८२ अन्य (अवशेष) रहेका छन्।
जिल्ला प्रहरीले नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको जनाएको छ।
प्रकाशित: १४ भाद्र २०८३ ११:४२ आइतबार



