दक्षिण एसियाभरका लाखौं गृह-श्रमिक (होम–बेस्ड वर्कर्स) को जीवनस्तर रूपान्तरण गर्न सफल काठमाडौं घोषणापत्र जारी भएको २५ वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा विशेष समारोह आयोजना गरिएको छ।
समारोहमा सरकार, स्थानीय तह, कूटनीतिक नियोग, विकास साझेदार, श्रमिक सङ्गठन, ट्रेड युनियन र नागरिक समाजका अगुवाहरूले एक चौथाइ शताब्दी लामो सामूहिक अभियानको समीक्षा र उत्सव मनाएका छन्।
होमनेट साउथ एसिया (एचएनएसए) द्वारा आयोजित ‘काठमाडौं घोषणापत्रदेखि क्षेत्रीय रूपान्तरणसम्म: गृह–श्रमिकको ऐक्यबद्धताको २५ वर्ष’ शीर्षकको उक्त कार्यक्रममा सन् २००० मा सुरु भएको ऐतिहासिक यात्राको स्मरण गरिएको थियो।
सोही वर्ष दक्षिण एसियाका प्रतिनिधिहरूले गृह-श्रमिकहरूको पहिचान, सम्मान र संरक्षणको माग गर्दै ऐतिहासिक ‘काठमाडौं घोषणापत्र’ पारित गरेका थिए।
कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव, विभिन्न नगरपालिकाका उपमेयर, वडा अध्यक्ष, राजदूतहरू, सार्क सचिवालयका प्रतिनिधि, विकास साझेदार, अनुसन्धान संस्था, प्राज्ञिक क्षेत्र, बहुपक्षीय तथा द्विपक्षीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, श्रमिक नेता र दक्षिण एसियाभरका एचएनएसए सम्बद्ध संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
विगत २५ वर्षमा होमनेट साउथ एसिया दक्षिण एसियाका ८ वटा देशका ६२ सङ्गठनमार्फत १२ लाखभन्दा बढी श्रमिकहरूको प्रतिनिधित्व गर्ने यस क्षेत्रकै सबैभन्दा ठूलो सञ्जालका रूपमा स्थापित भएको छ।
सङ्गठनात्मक विस्तार, पैरवी, नेतृत्व विकास, सामाजिक सुरक्षा अभियान, बजार पहुँच र क्षेत्रीय ऐक्यबद्धतामार्फत यस सञ्जालले विगतमा ओझेलमा परेका श्रमिकहरूलाई सार्वजनिक नीति निर्माण र विकासको एजेन्डामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमको उद्घाटन गर्दै एचएनएसएकी प्रमुख अभियन्ता चाँदनी जोशीले काठमाडौं घोषणापत्रदेखि वर्तमानसम्मको आन्दोलनको यात्राबारे चर्चा गरिन्।
उनले विभेद र बहिष्करणलाई चुनौती दिँदै यस क्षेत्रको नीतिगत सुधारमा महिला गृह–श्रमिकहरूले देखाएको दृढता र नेतृत्वको खुलेर प्रशंसा गरिन्।
कार्यक्रममा एचएनएसएको क्षेत्रीय प्रभावसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै सृष्टि जोशी मल्लले श्रमिक सङ्गठनहरूको सशक्तीकरण, नीतिगत प्रभाव, सामाजिक सुरक्षाको दायरा विस्तार र महिला श्रमिकहरूका लागि आर्थिक अवसरको वृद्धिमा सञ्जालले हासिल गरेका उपलब्धिहरूमा प्रकाश पारिन्। सामूहिक सङ्गठनमार्फत गृह-श्रमिकहरू कसरी आफ्नो समुदाय र अर्थतन्त्रमा परिवर्तनका संवाहक बनेका छन् भन्ने कुरा उनको प्रस्तुतिले प्रस्ट पारेको थियो।
सो अवसरमा होमनेट इन्टरनेसनलका प्रतिनिधिले गृह-श्रमिकहरूको विश्वव्यापी आन्दोलनमा दक्षिण एसियाले खेलेको अग्रणी भूमिकाको चर्चा गर्दै अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउन एचएनएसएले पुर्याएको योगदानको सराहना गरे।
कार्यक्रममा श्रमिक सङ्गठनहरूलाई सुदृढ गर्न, नेतृत्व क्षमता बढाउन र तथ्यमा आधारित पैरवीलाई समर्थन गर्न तयार पारिएका विभिन्न व्यावहारिक म्यानुअल तथा ज्ञानमूलक सामग्रीहरू पनि सार्वजनिक गरिएको थियो।
नीति निर्माता, अनुसन्धानकर्ता, विकासकर्मी र सर्वसाधारणलाई गृह–श्रमिकका योगदान र चुनौतीबारे जानकारी गराउने उद्देश्यले तयार पारिएको नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गृह–श्रमिकहरूसम्बन्धी ‘१२ मुख्य तथ्य’ समेत सार्वजनिक गरियो।
साथै, महिला गृह–श्रमिकमाथि हुने हिंसा न्यूनीकरणसम्बन्धी प्रशिक्षण पुस्तिका ‘भ्वाइस, वर्क, पावर’ लाई दक्षिण एसियाका विभिन्न भाषाहरूमा सार्वजनिक गरिएको थियो।
यस क्षेत्रका श्रमिक सङ्गठन, अभ्यासकर्ता, नीति निर्माता र विकास साझेदारहरूबीच ज्ञान आदानप्रदान, नवप्रवर्तन, अनुसन्धान र क्षमता अभिवृद्धिलाई सहज बनाउन नयाँ पहलका रूपमा ‘दक्षिण एसिया क्षेत्रीय सिकाइ मञ्च’ को औपचारिक शुभारम्भ हुनु कार्यक्रमको अर्को प्रमुख आकर्षण रह्यो। यो मञ्च गृह–श्रमिकका समस्या समाधानार्थ सामूहिक सिकाइ र क्षेत्रीय सहकार्यको केन्द्र बन्ने लक्ष्य राखिएको छ।
कार्यक्रमलाई विशेष सम्बोधन गर्दै युवा, श्रम तथा रोजगार मन्त्रीले क्षेत्रीय ऐक्यबद्धतालाई अब कार्यरूपमा परिणत गर्नुपर्ने कुरामा जोड दिँदै राष्ट्रिय अर्थतन्त्रमा गृह-श्रमिकहरूको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गरे।
उनले तीनवटा प्राथमिकताहरू औंल्याए। गृह-श्रमिकहरूको श्रम पहिचान र अधिकार सुदृढ गर्ने, सामाजिक सुरक्षामा पहुँच विस्तार गर्ने र नेतृत्व, उद्यमशीलता तथा समान अवसरमार्फत महिला गृह–श्रमिकहरूलाई सशक्त बनाउने।
प्रत्येक श्रमिकलाई देखिने, सम्मान गरिने र मर्यादित व्यवहार गरिने भविष्य निर्माणका लागि मिलेर काम गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए।
प्रकाशित: १६ असार २०८३ २२:२५ मंगलबार